Monday, 19 August 2019

आईकाओ ५६ औं डीजी सम्मेलन काठमाडौंमा शुरु, हवाई सुरक्षा, पूर्वाधार विकास तथा क्षेत्रीय समन्वयमा जोड

भदौ २, काठमाडौं । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को हवाई महानिर्देशकको ५६औं सम्मेलन सोमवारदेखि काठमाडौंमा शुरु भएको छ । उद्घाटन सत्रमा उड्डयन क्षेत्रका विज्ञहरुले हवाई सुरक्षा, पूर्वाधार विकास तथा क्षेत्रीय समन्वयमा जोड दिएका छन् । पाँच दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले सोल्टी होटलमा उद्घाटन गर्नुभएको हो ।
‘क्षमताको सीमितता सम्बोधनको लागि साझा प्रयास’ भन्ने नारासहित शुरु भएको सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका ४६ देशका हवाई महानिर्देशकहरूको सहभागिता छ । यस्तै सम्मेलनमा ३५० विदेशी तथा करीब १५० स्वदेशी गरी ५०० जना प्रतिनिधिहरुको सहभागिता छ । सम्मेलनमा वर्षभरि आ–आफ्नो देशले हवाई क्षेत्रमा गरेका कार्यहरूको मूल्यांकन गरी भावी दिनमा गर्नुपर्ने सुधार तथा नीतिगत व्यवस्थामा छलफल हुने बताइएको छ । सम्मेलनमा १२ एजेन्डामा ५४ कार्यपत्र र ४८ जानकारी पत्र प्रस्तुत हुनेछन् । नेपालले नागरिक उड्डयन सुरक्षामा बढ्दो चुनौती लगायतका तीनओटा कार्यपत्र प्रस्तुत गर्ने प्राधिकरणका महानिर्देशक पोखरेलले जानकारी दिए । यस सम्मेलनमा छलफल गरी तय भएका विषयहरूलाई आगामी अक्टोबरमा थाइल्यान्डको बैंककमा हुने महासभा सम्मेलनमा पेश गरिनेछ । महासभामा आईकाओसँग आबद्ध १९३ मुलुकका प्रतिनिधि सहभागी हुनेछन् ।सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालले हवाई सुरक्षका विषयमा आईकाओका मापदण्डहरुको पूर्ण परिपालनामा जोड दिएको बताउनुभयो । उहाँले नेपालको भौगिोलिक अवस्थाको कारण नेपालको हवाई क्षेत्र चुनौतीपूर्ण रहेपनि हवाई सुरक्षा र गुणस्तरीय सेवाको लागि सरकार तथा सम्बद्ध निकायले काम गरिरहको बताउनुभयो । ‘नेपाल आईकाओ तथा अन्य अन्तरराष्ट्रिय निकायका चासो र सुझावहरुलाई गहन रुपमा लिई सोही अनुसारको हवाई सुरक्षा चासोहरू सम्बोधन गर्न प्रयत्नशिल छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाली आकाश सुरक्षित र भरपर्दो बनाउन हाम्रो सबै प्रयास जारी छन् र यसमा नेपाल सधैं अन्तरराष्ट्रिय नियामकहरूसँगको सहकार्यमा प्रतिवद्ध छ ।’
कार्यक्रममा आईकाओका अध्यक्ष डा. अलुमुयिया बर्नाड अल्यूले विश्वको आर्थिक वृद्धिमा हवाई उद्योग क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै हवाई सुरक्षा तथा क्षेत्रीय सहकार्य अहिलेको आवश्यकता भएको बताए । उनले हवाई चाप व्यवस्थापन तथा क्षमता अभिवृद्धिमा मिलेर काम गर्नुपर्ने बताए ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन आईकाओको मापदण्ड परिपालनामा जोड दिएको बताए । उनले त्यसको लागि नेपालले नीतिगत र अन्य पूर्वाधार विकासमा जोड दिइरहको बताए ।
आईकाओका क्षेत्रीय निर्देशक अरुण मिश्रले विश्वभरी नै हवाई यातायात बढ्दो गतिमा रहेको अवस्थामा एशिया प्रशान्त क्षेत्र विश्वमै सबैभन्दा छिटो वृद्धि भइरहेको क्षेत्र भएको बताए । यो अवस्थामा हवाई सुरक्षाको विषय गम्भीर चासोको विषय भएको उनको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालले आफ्नो हवाई सुरक्षा तथा क्षमता अभिवृद्धिको लागि हवाई सुरक्षा रणनीति सन् २०१८–२०२० लागू गरी काम गरिरहको बताए ।नेपालले यसअघि सन् १९७८ मा १४औं र १९९८ मा ३४औं सम्मेलन आयोजना गरेको थियो । यसअघि ५५औं सम्मेलन फिजीमा आयोजना भएको थियो भने ५७ औं सम्मेलन बंगलादेशमा आयोजना हुने छ ।
आईकाओले विश्वमा सुरक्षित, नियमित र प्रभावकारी नागरिक उड्डयनका लागि उड्डयन सम्बन्धी नियम, मापदण्ड, सिफारिस, मार्गदर्शन र सर्कुलर आदि जारी गर्ने गर्दछ । यसकै आधारमा सदस्य राष्ट्रहरूले नागरिक उड्डयनसम्बन्धी नियम, कानून, निर्देशिका तथा कार्यविधि तर्जुमा गरी लागू गर्दछन् ।

No comments:

Post a Comment

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच वैज्ञानिक  सहकार्यका लागि छलफल  २०८१ पुष २३  नेपाल उद...