Wednesday, 25 September 2019

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन : म्युनिख एयरपोर्टलाई दिने तयारी

काठमाडौं । सरकारले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा जर्मनीको म्युनिख इन्टरनेशनललाई दिने तयारी गरेको छ । जर्मन सरकारको २६ प्रतिशत स्वामित्व रहेको म्युनिख एयरपोर्टको प्रस्तावमाथि अध्ययन गरिरहको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । 
गत जेठ १६ गतेको मन्त्रिपरिषद् बैठकले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल खुला प्रतिस्पर्धाबाट नभई दुई सरकारबीचको सम्झौताबाट ‘जीटुजी’ मोडेलमा सञ्चालन गर्ने निर्णय गरेको थियो । जर्मन सरकारको स्वामित्वको उक्त कम्पनीले विमानस्थल सञ्चालनका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई गत असारमा औपचारिक प्रस्ताव पठाएको थियो । म्युनिखले गौतमबुद्ध विमानस्थल ५० वर्षका लागि सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको छ ।
यो प्रस्तावमाथि मन्त्रालयले अध्ययन गरिरहेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए । ‘सरकारले जीटुजी मोडलबाट विमानस्थल सञ्चालनको निर्णय गरेपछि म्युनिख एयरपोर्टको प्रस्ताव आएकोले त्यसमाथि मन्त्रालयले छलफल गरेको छ । सम्भवतः यस विषयमा सरकारले छिट्टै निर्णय गर्ने छ,’ मन्त्री भट्टराईले भने । विमानस्थल सञ्चालनका लागि हालसम्म जर्मनीबाहेक अन्य मुलुकबाट प्रस्ताव नआएकोले उसैले पाउने सम्भावना बढी रहेको मन्त्रालयका अधिकारी बताउँछन् । यद्यपि, त्यसबारेमा अहिले नै अन्तिम निर्णय भने भइनसकेको उनीहरूको भनाइ छ । 
नेपालस्थित जर्मन राजदूतावास मार्पmत पर्यटन मन्त्रालय र प्राधिकरणलाई गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि प्रस्ताव आएको थियो । यस विषयमा जर्मनीका राजदूतले मन्त्रालयका अधिकारीहरूसँग छलफल गरिसकेका छन् । विमानस्थल सञ्चालनको जिम्मेवारी दिने विषयमा पर्यटन मन्त्रालयले मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेर अध्ययन गरिरहेको छ । समितिमा नागरिक उड्डयन प्राधिकरण, कानून, न्याय तथा संसदीय मामिला, परराष्ट्र लगायत मन्त्रालयको प्रतिनिधि सहभागी छन् ।
समितिले प्रस्तावमाथि छलफल गरी त्यसको मूल्यांकन गर्ने तथा सरकारलाई सिफारिश गर्ने छ ।
गौतमबुद्ध विमानस्थल सन् २०१९ को डिसेम्बर महीनासम्म निर्माण सम्पन्न गरी सन् २०२० को मार्च महीनामा उक्त विमानस्थलबाट उडान शुरू गर्ने मन्त्री भट्टराईले बताए । ‘पहिले पूर्वाधार निर्माणको काम सकिनेछ । त्यसपछि ‘उडान कार्यविधि, अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को सहमति, विमानस्थल प्रमाणितपछि मात्रै परीक्षण उडान र व्यावसायिक उडान शुरू गर्ने सरकारको योजना छ । त्यसबीचमा विमानस्थल सञ्चालनको जिम्मा दिने विषयमा पनि निर्णयमा पुगिनेछ,’ उनले भने ।
हाल सो विमानस्थलको भौतिक प्रगति ८३ प्रतिशतभन्दा माथि रहेको प्राधिकरणले जानकारी दिएको छ । विमानस्थलमा अहिलेसम्म पार्किङ क्षेत्रको काम, ओभरहेड ट्याङ्की, प्रशासनिक भवन र धावनमार्गको काम सकिएको छ भने कन्ट्रोल टावर, अन्तरराष्ट्रिय टर्मिनल भवन लगायतको काम करीब करीब सकिएको छ । 
रू. ६ अर्ब २२ करोडमा चीनको सरकारी कम्पनी नर्थवेस्ट सिभिल एभिएशन एयरपोर्ट कन्स्ट्रक्शन ग्रूपले ठेक्का लिएकोे विमानस्थल सन् २०१७ डिसेम्बरसम्ममा सम्पन्न गर्नुपर्ने थियो । मधेश आन्दोलन, भारतको नाकाबन्दी, नदीजन्य निर्माण सामग्रीको अभाव लगायतका कारण पटकपटक म्याद थप्दै अब निर्माण सम्पन्न गर्ने मिति यसै वर्षको डिसेम्बर पु¥याइएको छ । विमानस्थल निर्माणको केही बाँकी काम सम्पन्न गर्न असारमा तेस्रोपटक समयावधि थपिएको थियो  ।

Tuesday, 24 September 2019

महेन्द्रनगर र नेपालगञ्ज हवाई प्रवेशविन्दुका लागि भारतसँग पुनः छलफल गर्ने तयारी

महेन्द्रनगर र नेपालगञ्ज हवाई प्रवेशविन्दु : भारतसँग पुनः छलफल गर्ने तयारी 

Sep 24, 2019 
समाचार
Image Not Found
author avatar टीपी भुसाल
Conclave Award
काठमाडौं । सरकारले महेन्द्रनगर र नेपालगञ्ज हवाई प्रवेशविन्दुका लागि भारतसँग पुनः छलफल गर्ने तयारी गरेको छ । यी दुई रूटका बारेमा यसअघि पटकपटक वार्ता भए पनि टुंगोमा नपुगिएकाले सरकारले भारतसँग कूटनीतिक पहल गर्ने भएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माणको काम अघि बढिरहेको सन्दर्भमा नेपालका लागि यी रूट अत्यावश्यक हुन् । यी रूटबाट हवाई दूरी छोटो हुने नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ ।
भारतसँग भएको पछिल्लो सहमति अनुसार गौतमबुद्ध, पोखरा र निजगढ विमानस्थलबाट बढी उचाइमा उड्ने अन्तरराष्ट्रिय जहाजका लागि पश्चिममा नेपालगञ्ज र महेन्द्रनगरबाट प्रवेशमार्ग दिने सम्बन्धमा यही सेप्टेम्बरसम्म विस्तृत प्राविधिक अध्ययन मूल्याङ्कन सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, भारतको अनिच्छाका कारण यो काम अघि बढ्न सकेको छैन । खासगरी भारतले सुरक्षा चासो देखाउँदै यो रूटमा अनुमति दिन नमानेको प्राधिकरणका अधिकारीको भनाइ छ ।
सन् २०१९ को डिसेम्बरसम्ममा गौतमबुद्ध र २०२० भित्रै पोखरा विमानस्थल निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य छ । भैरहवाबाट हुने अन्तरराष्ट्रिय उडानमा लाग्ने हवाई दूरी घटाउन तथा उडान सहज र व्यवस्थित बनाउन नेपालगञ्ज र महेन्द्रनगरका प्रवेश विन्दु आवश्यक भएकाले यसबारेमा भारतसँग पुनः छलफल गरिने पर्यटन मन्त्री योगेश भट्टराईले बताए । ‘यसबारेमा नेपाल–भारतबीच यसअघि पनि छलफल नभएको होइन । तर, हाम्रा विमानस्थल तयार हुनै लागेको र प्राविधिक तथा आर्थिक हिसाबले पनि नेपालका लागि यी रूट आवश्यक भएकाले छिट्टै भारतसँग छलफल गरिनेछ,’ उनले भने । 
भारतले गतवर्ष असारमा भैरहवा, जनकपुरसँगै विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरबाट पनि प्रवेशविन्दु  दिन सहमति जनाएको थियो । तर, त्यसको सुरक्षा मूल्याङ्कन (सेफ्टी एसेसमेन्ट) गर्न अरू समय लाग्ने भन्दै पश्चिमका रूटमा भने सहमति हुन सकेको थिएन ।
भैरहवा र जनकपुरबाट क्रशबोर्डर हवाई प्रवेशविन्दु  दिन भने भारत सहमत भएको थियो । भारत सहमत भएसँगै क्रशबोर्डर हवाई प्रवेशविन्दु  बनाउन नेपाल र भारतले अन्तरराष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) मा संयुक्त रूपमा आवेदन दिइसकेका छन् । यो अनुमतिपछि यी दुई बिन्दुबाट नेपालमा विमान अवतरण गर्न पनि पाउने छन् । हाल यी बिन्दुबाट विमान उडान गर्न (बाहिर जान) मात्र पाउँथे ।  
प्राधिकरणका अनुसार हाल नेपालगञ्जबाट आउने जाने दुबै अनुमति छैन । त्यस्तै महेन्द्रनगर रुट हुँदै विमानहरू बाहिरिने गरेता पनि प्रवेशका लागि भने अनुमति छैन । प्राधिकरणका अधिकारीहरू पनि यो विषय प्राविधिक रूपमा छलफल भइसकेको विषय भएकोले कुटनीटिक पहल नै आवश्यक भएको बताउँछन् । पश्चिमका दुई रुट राष्ट्रिय आवश्यकताको विषय भएकोले सरकारले छिट्टै कुटनीतिक पहल गर्ने मन्त्री भट्टराईले बताए । 
पूर्व—पश्चिम दुवैतर्फबाट आउने विमानहरू हालसम्म सिमराबाट मात्र नेपालमा प्रवेश गर्न पाउँछन् । भारतको नयाँदिल्ली ‘फ्लाइट इन्फरमेशन रिजन’ (एफआईआर) बाट नेपाल प्रवेश गर्दा महेन्द्रनगरको प्रवेशविन्दु छोटो पर्छ । तर अनुमति नभएका कारण सिमरातर्फबाट घुमेर आउँदा इन्धन र हवाई दूरी बढी पर्न जान्छ । 
यस्तै पोखराको हकमा नेपालको पश्चिमी भेगबाट आएका विमानहरू सिमरा पुगेर फेरि पोखरातिर मोडिनुपर्ने बाध्यता छ । त्यसको साटो नेपालगञ्जको आकाश हुँदै सीधै पोखरा अवतरण गर्दा रुट छोटो पर्ने मात्र नभई इन्धन पनि बचत हुने प्राधिकरणका अधिकारीको धारणा छ । प्राधिकरणका अनुसार यी दुई नयाँ प्रवेशविन्दुबाट विमानहरू नयाँ दिल्लीबाट काठमाडौं अवतरण गर्दा १४ नटिकल माइल दूरी घट्छ । भैरहवामा अवतरण गर्नुपर्दा १६९ र पोखराका लागि १६५ नटिकल माइल दूरी कम हुने प्राधिकरणका अधिकारीको धारणा छ ।

निजगढ ज्युरिख एयरपोर्ट इन्टरनेशनलबाट प्रस्ताव माग्ने

काठमाडौं । 
बहुचर्चित निजगढ अन्तरराष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा बनाउने निर्णय गर्दै सरकारले त्यसको निर्माणका लागि स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्ट इन्टरनेशनलबाट प्रस्ताव माग्ने भएको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमवार बसेको नेपाल लगानी बोर्डको ४०औं बोर्ड बैठकको यो निर्णयसँगै निजगढ विमानस्थलको विकास एक कदम अगाडि बढेको छ । 
सरकारले गत चैतको दोस्रो साता आयोजना गरेको अन्तरराष्ट्रिय लगानी सम्मेलनमा यो विमानस्थल निर्माणको प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । त्यसैअनुरूप ३ अर्ब अमेरिकी डलरको लागत अनुमान गरिएको निजगढ विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न ५ देशका ६ कम्पनीले प्रस्ताव बोर्डसमक्ष राखेका थिए । तोकिएको मापदण्ड पुर्‍याएर आवेदन दिएको भन्दै ज्युरिख एयरपोर्टलाई बोर्डले संक्षिप्त सूची (सर्टलिस्ट)मा राखेको हो । 
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले निजगढ विमानस्थलका बारेमा सोमवारको निर्णय प्रारम्भिक चरण भएको बताए । उनका अनुसार बोर्डले आगामी २ महीनाभित्रै निजगढ विमानस्थल निर्माणका लागि आशयपत्र (रिक्वेस्ट फर प्रपोजल) जारी गर्नेछ । आशयपत्र जारी भएको ४५ दिनभित्र ज्युरिख एयरपोर्ट इन्टरनेशनलले बोर्डसमक्ष विस्तृत प्रस्ताव पेश गर्नुपर्नेछ । ‘ज्युरिखको विस्तृत प्रस्ताव राज्यलाई चित्तबुझ्दो लागेमा मात्र उसलाई निजगढ निर्माणको जिम्मा दिइनेछ,’ अधिकारीले बताए । यदि सबै प्रक्रिया पूरा गरी निजगढ विमानस्थल निर्माणको जिम्मा ज्युरिखले पाएमा पीपीपी मोडलमा पूर्वाधार निर्माणको काम पाउने पहिलो कम्पनी हुनेछ ।
ज्युरिख एयरपोर्ट एजी विमानस्थल सञ्चालन/व्यवस्थापन गर्ने कम्पनी हो । 
सरकारी लगानीको यो कम्पनीले ज्युरिखकै विमानस्थल सञ्चालन गरिरहेको छ भने छिमेकी भारतको बैंगलोर अन्तरराष्ट्रिय विमानस्थलको निर्माण र सञ्चालन पनि यसैले गरेको छ । 

ष्ठ नागरिकलाई हवाई भाडामा छूट

काठमाडौं (अस) । चाडपर्वलाई लक्षित गरी श्री एयरलाइन्सले ज्येष्ठ नागरिकलाई हवाई भाडामा छूट दिने भएको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा कम्पनीले घटस्थापनाको दिन असोज १२ गतेदेखि यो सुविधा दिने भएको हो । 
८६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई हवाई भाडामा रू. ५०० छूट दिइने कम्पनीले बताएको छ । यस्तै ७५ वर्ष पुगेका नागरिकका लागि ५० प्रतिशत छूटको व्यवस्था गरिएको कम्पनीका कर्पाेरेट प्रबन्धक अनिल मानन्धरले जानकारी दिए । 
कम्पनीले सहुलियत टिकट एयरलाइन्सका टिकट विक्री काउन्टर, कम्पनीको एप र वेबसाइटबाट मात्रै उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ । कम्पनीले छूट सुविधाका लागि उडानमा कोटा प्रणाली लागू गरेको छ । सोअनुसार एक पटकको उडानमा यस्तो सुविधा दुईजना ज्येष्ठ नागरिकले मात्रै पाउनेछन् ।

Friday, 20 September 2019

उड्डयन प्राधिकरणको बजेट करीब ४७ अर्ब

https://www.abhiyandaily.com/newscategory-detail/358332
 राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्दै नेपाल नागरिक उड्यडन प्राधिकरण (क्यान) ले आर्थिक वर्ष २०७६/७७ का लागि रू. ४६ अर्ब ९६ करोड ५० लाखको बजेट स्वीकृत गरेको छ । पर्यटनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा भदौ १९ गते बसेको प्राधिकरणको ३६२औं बैठकबाट चालू आवको नीति, बजेट तथा कार्यक्रम स्वीकृत भएको प्राधिकरणले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । 
गत आव २०७५/७६ मा क्यानको स्वीकृत बजेट रू. ४५ अर्ब १७ करोड ५७ लाख रहेको थियो । त्यसमा पूँजीगत र कार्यसञ्चालन खर्च गरेर क्यानले रू. ३७ अर्ब ७५ करोड खर्च गरेको थियो । गत आवको तुलनामा चालू आवमा क्यानको बजेट रू. १ अर्ब ७९ करोड ४२ लाखले बढी हो । 
क्यानले खर्च, नीति तथा कार्यक्रमको व्यवस्थापनका लागि आन्तरिक र बाह्य स्रोत परिचालन गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले २९ अर्ब ६६ करोड १८ लाख आन्तरिक आय स्रोतबाट र १७ अर्ब २९ करोड ८९ लाख रुपैयाँ सरकारको विभिन्न शीर्षकमार्फत परिचालन गर्ने प्राधिकरणका महानिर्देशक राजन पोखरलेले जानकारी दिए ।
सरकारबाट अनुदानमार्फत १ अर्ब ४५ करोड, शेयरबाट ५ अर्ब ५२ करोड २५ लाख र ऋणमार्फत १० अर्ब ३२ करोड ६४ लाख जुटाइनेछ । यस्तै बजेटमा क्यानले ५ अर्ब ८३ करोड १९ लाख एरोनोटिकल र २ अर्ब ४९ करोड ९४ लाख ननएरोनोटिकल गरी कुल ८ अर्ब ३३ करोड १३ लाख रुपैयाँ अनुमानित आय प्रक्षेपण गरेको छ । यसवर्ष क्यानले विमानस्थल विकास शुल्क (एडीएफ) बापतको शुल्क समेत २ अर्ब २१ करोड २८ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको छ । 
त्यस्तै, रू. ३४ अर्ब ४ करोड ३७ लाख पूँजीगत र रू. ४ अर्ब १८ करोड ८४ लाख कार्यसञ्चालन गरी कुल रू. ३८ अर्ब २३ करोड २१ लाख खर्च अनुमान गरेको छ । महानिर्देशक पोखरेलले चालू आर्थिक वर्षमा गौतमबुद्ध, पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई तीव्रता दिई समयमै सम्पन्न गर्ने तथा निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माणको लागि आवश्यक प्रारम्भिक कार्य समेत प्राधिकरणबाट सम्पन्न गरिने बताए ।
क्यानले चालू आवका कार्यक्रममा विराटनगर, चन्द्रगढी, जनकपुर र धनगढी विमानस्थलको गुरुयोजना तयार गरी सो अनुरूप स्तरोन्नति गर्दै लैजानेलगायत कार्यक्रम समावेश गरेको छ ।

Thursday, 19 September 2019

वायुसेवा निगमलाई पब्लिक लि कम्पनीमा लैजान कार्यदलको सुझाव, रणनीतिक साझेदार आवश्यक रणनीतिक साझेदार आवश्यक

असोज १, काठमाडौं । नेपाल वायुसेवा निगम सुधारका लागि सुझाव दिन गठित कार्यदलले निगमलाई पब्लिक लिमिटेड कम्पनीमा लैजान सुझाव दिएको छ । कार्यदलले व्यवस्थापकीय सुधार गर्न विदेशी रणनीतिक साझेदार ल्याउन पनि सुझाएको छ । निगमलाई रू. २०० अर्ब अधिकृत पूँजी, रू. १५० अर्ब जारी पूँजी र रू. १०० अर्ब चुक्ता पूँजीसहित सार्वजनिक–निजी साझेदारीको नेपाल वायसुेवा कम्पनी लिमिटेड बनाउनुपर्ने कार्यदलको सुझावमा उल्लेख छ । 
पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा गठन भएको कार्यदलले बुधवार पर्यटन मन्त्री योगेश भट्टराईलाई १३ ओटा तत्कालीन र १२ ओटा दीर्घकालीन सुझावसहितको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा वित्तीय, व्यवस्थापकीय र संस्थागत पुनःसंरचना, गन्तव्य विश्लेषण, विमान तथा उडान, बजार, मानवस्रोत व्यवस्थापन, सूचना तथा सञ्चार प्रविधि, सम्पत्ति तथा दायित्व पुनःमूल्यांकन, कार्यसम्पादन सूचक, संस्थागत सुशासन र गोपनीयतामा सुधार, आन्तरिक नियन्त्रण प्रणालीमा तत्काल सुधार गर्नुपर्नेलगायत मुख्य बुँदा समावेश छन् । 
एक महीनाअघि गठन भएको कार्यदलमा लेखाविज्ञ डा. सुबोधकुमार कर्ण, व्यवस्थापनविज्ञ डीमप्रसाद पौडेल, क्याप्टेन सुधीरशमसेर राई सदस्य र मन्त्रालयका सहसचिव बुद्धिसागर भट्टराई सदस्य–सचिव रहेका थिए । कार्यदलले निगम सुधारका लागि वित्तीय पुनःसंरचना आवश्यक भएको निष्कर्ष निकालेको छ । प्रतिवेदनमा निगमलाई पब्लिक लिमिटेडमा लैजान ५१ प्रतिशत शेयर सरकारले राखी अन्य शेयर बाँडफाँट गरी पब्लिक लिमिटेडमा जानुपर्ने सुझाव छ, जसअनुसार विदेशी साझेदार तथा नेपाली लगानीकर्ताहरूलाई ३५ प्रतिशत, पर्यटनसँग सम्बद्ध संघसंस्था तथा पर्यटन व्यवसायीहरूलाई ६ प्रतिशत, सर्वसाधारण लगानीकर्तालाई ५ प्रतिशत, निगमका वर्तमान तथा भूतपूर्व पदाधिकारी र कर्मचारीलाई १ दशमलव ५ प्रतिशत, निजामती सेवाका कर्मचारी तथा नेपाल सरकारको पूर्ण स्वामित्व भएका अन्य सार्वजनिक संस्थाका कर्मचारीलाई १ दशमलव ५ प्रतिशत शेयर बाँडफाँट गर्न सुझाव दिएइको छ ।
प्रतिवेदनमा निगमले जहाज खरीद गर्दा सधैं विभिन्न समस्या आउने गरेको उल्लेख गर्दै जहाज उत्पादक कम्पनीसँग सीधै किन्नुपर्ने र जहाज खरीद गर्दा बैंक ग्यारेन्टी अनिवार्य गर्न सुझाव दिइएको छ । यस्तै निगमसँग भएका विभिन्न प्रकारका जहाजमध्ये न्यारोबडीले राम्रो व्यवसाय गरेकोले व्यवसाय विस्तारका लागि थप २ ओटा एयरबस ३२० खरीद गर्न र वाइडबडीका लागि छिटो नयाँ गन्तव्य पहिचान गर्नुपर्ने उल्लेख छ । यस्तै दुईओटा एमए–६० र चारओटा वाई–१२ ई गरी ६ ओटा चिनियाँ जहाजको कारण निगमले धेरै घाटा बेहोर्नु परेकाले लिजमा दिने वा विक्री गर्न सुझाव दिइएको छ । यसैगरी प्रतिवेदनमा अनलाइन टिकटको व्यवस्था, सम्पत्ति तथा दायित्वको मूल्यांकन, कार्यसम्पादन सम्झौता गर्नुपर्नेलगायत सुझाव समेटिएका छन् । 
प्रतिवेदन बुझ्दै पर्यटन मन्त्री भट्टराईले समितिको प्रतिवेदन थप अध्ययन गरेर तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले प्रतिवेदनका विषयमा सर्वसाधारण र अन्य विज्ञको समेत सुझावलाई समेटेर कार्यतालिका बनाएर कार्यान्वयनमा लैजाने बताए । ‘निगम सबै नेपालीको सम्पत्ति हो । एकल प्रयास र निर्णयले यसको सुधार सम्भव छैन । त्यसैले सबैको सुझाव लिएर निगमलाई माथि उठाउन सरकारले प्रयास गर्ने छ,’ उनले भने । 
मन्त्री भट्टराईले निगममा सरकारले दायित्व बढाउने तर त्यसका लागि व्यवस्थापनबाट विश्वासिलो आधार पेश गर्नुपर्ने तर्क गरे । निगमको सुधारका लागि आएका सबै सुझाव कार्यान्वयनका लागि नीतिगत सुधार आवश्यक भएको बताउँदै उनले यसका लागि सरोकारवाला सबैसँग परामर्श गरी अगाडि बढ्ने बताए ।

Tuesday, 17 September 2019

विशिष्ट व्यक्तिहरुको विमानस्थल प्रवेशमा नयाँ मापदण्ड लागू, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ९५% क्षेत्रफल सीसीटीभी कभरेजमा

भदौ ३१, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले विमानस्थलमा विशिष्ट व्यक्तिको मापदण्ड लागू गरेको छ । अबदेखि विमानस्थलको आन्तरिक उडान तर्फ छ अतिविशिष्ट व्यक्तिहरू राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको सवारी साधनलाई मात्र विमानस्थलको भित्रि भागमा प्रवेश दिइने भएको छ । यो सुविधा सोही मर्यादामा रहका विदेशी समकक्षीहरुलाई पनि लागू हुने विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
विमानस्थलमा हुने विशिष्ट व्यक्तिहरुको आगमनलाई व्यवस्थित गर्न पर्यटन मन्त्री योगेश भट्टराइको निर्देशन अनुरुप नयाँ मापदण्ड लागू गरिएको विमानस्थल कार्यालयको भनाइ छ । हालको मापदण्ड परिमार्जन गरी अतिविशिष्ट व्यक्तिको सवारी साधन मात्र जहाजको ढोका नजिक पुग्ने व्यवस्था मिलाइएको हो । पर्यटनमन्त्री भट्टराइले केही दिन अघि सार्वजनिक गरेको प्राथमिकतायुक्त कार्ययोजनामा यो विषय पनि समावेश थियो ।
पहिले मन्त्रीहरु समेत आफ्नो सवारी साधन लिएर विमानस्थलमा जहाजको ढोका नजिक जाने गर्दथे । यद्यपि नागरिक उड्ड्यन सुरक्षा मापदण्डका आधारमा मन्त्रीहरुलाई जहाजको ढोकासम्म जाने अनुमति भने थिएन । विमानस्थल कार्यालयले व्यावहारिकताको आधारमा भन्दै त्यसमा छुट दिएको थियो । अब भने छ अतिविशिष्ट बाहेकका विशिष्ट पाहुनाको हकमा वायुसेवाले उपलब्ध गराउने सवारी साधनबाटै जहाजसम्ममा आउने जाने व्यवस्था मिलाइएको विमानस्थलले कार्यालयले जानकारी दिएको छ । यस्तै विमानस्थलबाट सञ्चालन हुने सवारी साधनमा जीपीएस प्रणाली लागू गरिनुका साथै चालकलाई आतिथ्य संस्कारबारे तालीम दिइने भएको छ ।
३४५ ओटा सीसीटीभी क्यामेराबाट विमानस्थलको निगरानी
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको समग्र सुरक्षा सुधारको लागि विमानस्थल कार्यालयले ३४५ ओटा सीसीटीभी क्यामेरा जडान गरेको छ । यसबाट विमानस्थलको महत्वपूर्ण ९५ प्रतिशत क्षेत्रफल सीसीटीभीको कभरेजमा आएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थलका अनुसार अब छिट्टै थप १०० सीसीटीभी क्यामेरा जडान गरिने छ । यस्तै १ वर्ष भित्र अर्को थप १०० सीसीटीभी जडान गरिने छ । जसबाट विमानस्थलको सतप्रतिशत क्षेत्रफल क्यामराको निगरानीमा रहने विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
विमानस्थलको सुरक्षा व्यवस्थापनको बारेमा जानकारी दिन सोमवार विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा लगेज÷ब्यागेज फुट्ने तथा चोरी हुने सबै काम त्रिभुवन विमानस्थलमै भएको भन्ने गुनासो समाधान भएको उनले बताए । ‘लगेज÷ब्याजेज फुट्ने तथा चोरी हुने काम यहाँ हँुदै भएन भन्ने होइन । यहाँभन्दा विदेशस्थित विमानस्थलमै बढी हुने गरेको पाइएको छ,’ उनले भने । त्रिभुवन विमानस्थलमा त्यस्तो घटनामा संलग्न कर्मचारीलाई कडा कारबाही गरिने बताउँदै उनले यस्ता घटना कम गर्न सीसीटीभीको माध्यमबाट निगरानी बढाइएको जानकारी दिए ।
पछिलो समय विमानस्थलमा यात्रुहरुबाट परेका यस्तै ५५ ओटा उजुरीमध्ये ४५ ओटाको र विदेशी विमान कम्पनीबाट आएका यस्तै २७ गुनासोमध्ये २२ ओटा गुनासा समाधान भएको उनले बताए । यात्राका क्रममा अन्तिम गन्तव्य नेपाल हुन आउने अवस्थामा यात्रुहरुले यही नै लगेज फुटाउने जस्ता काम भएको गुनासो गरेपनि अनुसन्धान गर्दा त्यो काम विदेशी विमानस्थलहरुमै भएको पाइएको उनको दाबी छ ।

Monday, 16 September 2019

भुवन अन्तरराष्ट्रिय विमानस्थलमा ११ वर्षपछि ड्युटी फ्री शप पुनः सञ्चालन गरिने

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ११ वर्षपछि ड्युटी फ्री शप पुनः सञ्चालन गरिने भएको छ । पर्यटन मन्त्री योगेश भट्टराईले यसका निम्ति विक्री गरिने सामानहरूको सूची सहितको योजना पेश गर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिएका छन् । २०६५ सालमा बाबुराम भट्टराई अर्थमन्त्री भएको समयदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ड्युटी फ्री शप बन्द छ । 
विदेशी तथा नेपाली यात्रुहरूले अन्तरराष्ट्रिय टर्मिनलमा ड्युटी फ्री शप हुनुपर्ने सुझाव दिएको आधारमा मन्त्रालयले यो तयारी अगाडि बढाएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले जानकारी दिए । ‘विगत ११ वर्षदेखि ड्युटी फ्री शप बन्द छ । यो खुल्नुपर्छ भन्ने विभिन्न क्षेत्रको माग अनुसार पर्यटन मन्त्रीबाट निर्देशन आएको छ । सरकारले निर्णय गरेको आधारमा विमानस्थल कार्यालयले थप काम अगाडि बढाउनेछ,’ उनले भने ।
विमानस्थलको समग्र सुधारको कार्ययोजना अनुसार मन्त्री भट्टराईले अन्य निर्देशन समेत दिएका छन् । केही दिनअघि मन्त्रीले सार्वजनिक गरेको मन्त्रालयका प्राथमिकता प्राप्त १४१ बुँदे कार्ययोजनामा विमानस्थल सुधार समेत प्राथमिकताको विषय थियो ।
मन्त्री भट्टराईले विमानस्थलमा आकस्मिक र आवश्यकताका आधारमा मात्र यात्रु चेक जाँच गर्न निर्देशन दिएका छन् । यात्रुहरूले विमानस्थल आगमन र भन्सार क्षेत्रमा मेटल फ्रीको नाममा अनावश्यक सास्ती बेहोर्नु परेको भन्ने गुनासोका आधारमा सम्बद्ध निकायसँग समन्वय गरी सो क्षेत्रलाई स्क्रीनिङ फ्री गरी यात्रुहरूलाई सहजता प्रदान गर्न निर्देशन दिएको महाप्रबन्धक क्षत्रीले जानकारी दिए । यस्तै, विमानस्थलमा सञ्चालन भइरहेका ट्याक्सीहरूको हालको गुणस्तरको मूल्यांकन गरी ट्याक्सीहरूको गुणस्तर, मापदण्ड, भाडादर आदि विषयमा १ महीनाभित्र प्रतिवेदन पेश गर्न विमानस्थल कार्यालयलाई निर्देशन दिइएको छ ।
सरोकारवालासँग भएको छलफलमा मन्त्री भट्टराईले विमानस्थललाई बुटिक एयरपोर्टको रूपमा विकास गर्न, कार्ययोजना बमोजिम काम गर्न, यात्रुहरूको सेवासुविधा प्रवाहलाई समयानुकूल परिमार्जन गरी गुणस्तर अभिवृद्धि गर्ने कार्यमा विशेष पहल गर्न र सो कार्यमा अवरोध, ढिलासुस्ती गर्ने व्यक्ति, कम्पनी वा संस्थालाई कठोर कारबाही गर्न समेत निर्देशन दिएका छन् ।

Friday, 13 September 2019

नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदलको प्रतिवेदन आउन भने अझै केही दिन लाग्ने

काठमाडौं । नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदलको एक महीनाको अवधि सकिएको छ । तर यससम्बन्धी प्रतिवेदन आउन भने अझै केही दिन लाग्ने भएको छ । सरकारले नेपाल वायुसेवा निगमका समस्याहरू पहिचान गरी सुधारका लागि सुझाव दिन कार्यदल गठन गरेको थियो ।
सरकारले गत महीना साउन २२ गते पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको हो । निगमको व्यावसायिक क्षमतामा वृद्धि, आन्तरिक व्यवस्थापनमा तत्कालीन तथा दीर्घकालीन सुधार र अन्तरराष्ट्रिय स्तरमा साख बढाउन सुझाव दिने कार्यभार कार्यदललाई दिइएको छ । समितिका सदस्यहरूमा लेखा विज्ञ (चार्टर एकाउन्टेन्ट) प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिम प्रकाश पौडेल, क्याप्टेन सुधीर शमशेर राई र सदस्यसचिवमा मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । 
निगमका विभिन्न पक्षहरूको वर्तमान अवस्था, समस्या र सुधारका उपाय समेत पहिचान गरी एक महीनाभित्र ठोस सुझावसहितको प्रतिवेदन तथा उक्त सुझावहरूको कार्यान्वयन कार्ययोजना समेत पेश गर्न कार्यदललाई जिम्मेवारी दिइएको थियो । हालसम्मको समय विषयको अध्ययन अनुसन्धानमै सकिएको र प्रतिवेदन आउन अझै केही दिन लाग्ने कार्यदलका संयोजक सुशील घिमिरेले जानकारी दिए । जटिल विषय भएकोले पनि समयमा काम सक्न नसकिएको तर कार्यदलले सकेसम्म छिटै प्रतिवेदन बुझाउने गरी बाँकी काम गरिरहेको उनको भनाइ छ । 
कार्यदललाई निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने, वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने र निगमको कानूनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवम् व्यावसायिक क्षमतामा रहेका समस्याहरू पहिचान तथा विश्लेषण गर्ने जिम्मेवारी दिइएको छ । 

Thursday, 12 September 2019

आगामी सन् २०२० को फेब्रुअरी २१ देखि २४ तारिखसम्म (नाइस) एक्स्पो हुने

काठमाडौं ।नेपाल भ्रमण वर्ष २०२० का अवसरमा प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले नेपाल इन्डिया चाइना एक्स्पो (नाइस) गर्ने भएको छ । भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डको सहकार्यमा आगामी सन् २०२० को फेब्रुअरी २१ देखि २४ तारिखसम्म एक्स्पो हुने पाटाले जानकारी दिएको छ ।
एक्स्पोमा चीन र भारतबाट पर्यटनसम्बद्ध व्यवसायी र निजी तथा सरकारी निकायका सरोकारवाला सहभागी हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । नेपालको भारत र चीन दुवैसँग दुईपक्षीय व्यापार विस्तार एवम् पारस्परिक सम्बन्ध रहेको भए पनि त्रिदेशीय पर्यटन प्रवद्र्धनका निम्ति भने यो पहल पहिलो भएको पाटाको दाबी छ । पाटाले नेपाललाई हिमालयको प्रवेशद्वारका रूपमा ब्रान्डिङ गर्दै हिमालयन ट्राभल मार्ट समेत गर्दै आएको छ । 
उक्त एक्स्पोमा २०० भन्दा बढी क्रेता, १०० विक्रेता, चीन र भारतका ५० भन्दा बढी सञ्चारकर्मी, विज्ञ वक्ता लगायत पर्यटनसँग सम्बद्ध स्थानीय संघसंस्था, सरकारी निकाय, सञ्चारकर्मी तथा सरोकारवाला गरी १ हजारभन्दा बढी सहभागी हुने पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिए । 
एक्स्पोले तीनओटै मुलुकबीच एकीकृत पर्यटकीय सम्भावना र व्यापारिक अवसर पहिचान गर्न तथा तीनै देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन महŒवपूर्ण भूमिका खेल्ने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताए । नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासका लागि एक्स्पोले ठूलो सहयोग गर्ने भ्रमण वर्ष संयोजक सुरज वैद्यले बताए । उनले एक्स्पोले नेपाल सरकारले लिएको भ्रमण वर्षको लक्ष्य प्राप्ति तथा सन् २०३० सम्ममा ५० लाख पर्यटक ल्याउने लक्ष्य पूरा गर्न आधार तयार पार्ने बताए । चीन र भारत विश्वकै ठूला पर्यटन बजार भएकाले यसको केही प्रतिशत पर्यटक मात्रै नेपाल भिœयाउन सके पर्यटकको संख्या बढ्ने होटल संघ नेपाल ‘हान’ की अध्यक्ष सृजना राणाले बताइन् । चीन र भारतको पर्यटक आगमन हेर्दा नेपालले पर्यटनको सम्भावना हुँदाहुँदै पनि लाभ लिन नसकेको अवस्थामा एक्स्पोले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने पाटाका महासचिव विभूतीचन्द ठाकुरले उल्लेख गरे । 
२०१८ को तथ्यांकअनुसार चीनबाट वार्षिक १५ करोड पर्यटकले विश्व भ्रमण गर्ने गरेकोमा जम्मा शून्य दशमलव १ प्रतिशतले र भारतका २ करोड ५८ लाख ५० हजार आउटबाउन्ड पर्यटकमध्ये शून्य दशमलव ७५ प्रतिशतले मात्र नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०१८ मा नेपालमा भारतबाट १ लाख ७८ हजार १३० जना र चीनबाट १ लाख ३४ हजार ३६२ जना पर्यटक नेपाल आए । यी दुई नेपालमा सबैभन्दा बढी पर्यटक आउने मुलुक हुन् ।

Monday, 9 September 2019

वाइडबडी प्रकरणमा संसदीय समिति : ‘सञ्चय कोष र लगानी कोषको लगानी गैरजिम्मेवारीपूर्ण’

काठमाडौं । प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले दुईओटा वाइडबडी ए ३३०–२०० विमानका प्रमुख लगानीकर्ताहरू कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले गैरजिम्मेवार ढंगले लगानी गरेको निष्कर्ष निकालेको छ ।
नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरीदमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले साढे १२÷१२ अर्ब रुपैयाँ लगानी गरेका थिए । उपसमितिले पेश गरेको ‘नेपाल वायुसेवा निगमको जहाज खरीद सम्बन्धी प्रतिवेदन–२०७६’ मा विमान खरीदमा नेपाल सरकारको जमानी रहे पनि दुवै संस्थाले गैरजिम्मेवार ढंगबाट लगानी गरेको निष्कर्ष निकालिएको छ ।
समितिले २०७५ मङ्सिर ८ गते सांसद दीपकप्रकाश भट्टको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको थियो । कोषले गैरजिम्मेवार ढंगबाट लगानी गर्दा लाखौं जनताको रकम जोखिममा परेको प्रतिवेदनमा उल्लेख छ । निगमले सञ्चय कोष र लगानी कोषसँग ऋण लिएर १ वर्षअघि जहाज खरीद गरेको थियो । जहाज आएपछि निगमले सञ्चय कोष र लगानी कोषलाई एक किस्ताबाहेकको रकम तिर्न सकेको छैन ।
सञ्चय कोषले एउटै संस्थालाई २३ अर्ब रुपैयाँ लगानी गर्दा त्यसको आर्थिक सक्षमता, सम्पूर्ण सम्पत्ति, दायित्वका साथै आम्दानी र खर्चको विवरणलाई समेत वास्ता नगरी ठूलो रकम जोखिममा पारेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘यसलाई कर्मचारी सञ्चय कोषको व्यवस्थापनको व्यावसायिक कार्य मान्न सकिँदैन । यो सर्वसाधारण नेपाली जनताबाट जम्मा भएको निक्षेपमाथिको ठूलो लापरबाही हो भन्ने उपसमितिको ठहर छ ।’  
उपसमितिले कोषको सञ्चालक समिति र व्यवस्थापनमा व्यापक पुनःसंरचना गर्नुपर्ने आवश्यकता देखिएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउन तथा आफ्नो रकम उठाउन कानून बमोजिम प्रक्रिया अगाडि बढाई आम सञ्चयकर्ताको लगानीको सुरक्षणका उपाय अवलम्बन गर्न निर्देशन दिएको छ । यस्तै सञ्चय कोष सरकारको अंग नभई एक ट्रस्ट भएकाले १ अर्बभन्दा बढीको लगानी गर्दा सम्बद्ध क्षेत्रका विज्ञहरूको रायसुझाव लिएर मात्र लगानी गर्न पनि निर्देशन दिएको छ ।
लगानी कोषले ऋण दिँदा सो ऋण प्रस्तावको सिलसिलामा निगमले पेश गरेका व्यापारिक योजना, वित्तीय प्रक्षेपण र व्यापार सम्भावनाका अवयवहरू पुष्टि हुने आधारहरू नै प्रभावकारी रूपमा विश्लेषण नगरेको निष्कर्ष उपसमितिले निकालेको छ । ‘ऋणको सा“वा ब्याज भुक्तानी नियमित रूपमा हुनसक्ने पुष्टि हुने विश्वसनीय आधारका रूपमा लिइने नगद प्रवाहको समष्टिगत एवम् प्रभावकारी अध्ययन नै नगरी सरकारको १२ अर्बसम्म ऋण जमानतमा बस्ने प्रत्याभूतिको आधारलाई महत्त्व दिई ऋणको साँवा तथा ब्याज भुक्तानी नहुने अवस्थाको जोखिमलाई ध्यान नदिइएको देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ ।
यस्तै नागरिक लगानी कोषले आफ्नो निक्षेपको करीब १० प्रतिशत रकम ऋण लगानी गर्दा कोषको आफ्नै लगानी सीमाको नीतिगत सैद्धान्तिक सामञ्जस्य नगरेको पनि उपसमितिको ठहर छ । उपसमितिले कोषको सञ्चालक समिति तथा व्यवस्थापनमा व्यापक सुधार गर्नुपर्ने तथा लगानी प्रवाह गर्दा आवश्यक अध्ययन, अनुसन्धान, राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानून मामलाका जानकार तथा विज्ञहरूको सल्लाह लिई निर्णय गर्न निर्देशन दिएको छ । यस्तै १ अर्बभन्दा माथिको लगानी गर्दा सम्बद्ध विषयविज्ञ र परामर्शदाताको राय लिएर मात्र लगानी गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । उपसमितिले लामो समय लगाएर अध्ययन गरी समितिलाई प्रतिवेदन बुझाएको र समितिले यस विषयमा थप छलफल गरी अगाडि बढाउने उपसमितिका सदस्य सुदन किराँतीले बताए ।
‘ऋण लगानीको विषयमा सञ्चय कोष र लगानी कोषका नीतिगत व्यवस्था तथा अन्य आवश्यक सावधानी लगायतका विषयको अध्ययन तथा सरोकारवाला निकायहरूसँग छलफल गरी उपसमितिले प्रतिवेदन तयार पारेको छ । उपसमितिले पेश परेको प्रतिवेदनमाथि समितिमा थप हुने छलफल हुनेछ, उनले भने ।
वाइडबडी विमान खरीदकै विषयमा सार्वजनिक लेखा समितिले ४ अर्ब ३५ करोड रुपैयाँ हिनामिना भएको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको थियो । समितिको प्रतिवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस प्रकरणमा छानविन गरिरहेको छ । यता निगमले जहाज किन्दाको ऋण भुक्तानीको सहजीकरणका लागि सरकारसँग २० अर्ब रुपैयाँ पूँजीको रूपमा माग गरेको थियो । तर निगमको यो प्रस्ताव अर्थमन्त्रालयमा थन्किएको छ ।
प्रतिक्रिया दिनुहोस्

Sunday, 8 September 2019

(टान)मा नयाँ कार्यसमिति

काठमाडौं (अस) । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)मा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शुक्रवार सम्पन्न टानको ४१औं वार्षिक साधारणसभाले युनिक एडभेन्चर इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक खुमबहादुर सुवेदीलाई अध्यक्षमा निर्वाचित गरेको छ । केन्द्रीय कार्यसमितिको उक्त निर्वाचनमा कुल १ हजार ३१९ मतदाता रहेकोमा निर्वाचनमा जम्मा ९८१ मत खसेको थियो । त्यसमध्ये ५२१ मत पाएर सुवेदी नयाँ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसैगरी वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितिय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा सरिता लामा निर्वाचित भए । सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा ऋतु ग्यामदान (तामाङ) निर्वाचित भएको टानले जानकारी दिएको छ ।  नवनिर्वाचित अध्यक्ष सुवेदीले पदयात्रा व्यवसायमा आइपरेका कुनै पनि समस्याको समाधान र सहजीकरणका लागि समिति सक्रिय हुने प्रतिबद्धता व्यक्त गरेका छन् । पदयात्रा व्यवसायको उत्थान र विकासका लागि समिति सक्रिय हुने उनको धारणा छ ।

थप चार मुलुकसँग हवाई सम्झौताको तयारी ३९ देशसँग हवाई सम्झौता, नौ देशमा उडान

काठमाडौं । सरकारले थप चार देश  फिनल्यान्ड, इन्डोनेशिया, रूस र अस्ट्रेलियासँग हवाई सम्झौताको तयारी गरेको छ । हालसम्म नेपालको ३९ देशसँग हवाई सम्झौता भइसकेको छ । सम्झौताको तयारी गरिएका देशमध्ये फिनल्यान्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि रुचि देखाएको हो भने अन्य मुलुकसँग नेपालले चासो बढाएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ । यी मुलुकमध्ये रूस पहिले सम्झौता तथा उडान समेत भएको तर हाल उडान बन्द भएको मुलुक र अन्य मुलुक नयाँ हुन् । 
नेपालसँग हवाई सम्झौता गर्नेे कम्बोडिया ३९ औं देश हो । सरकारले २०७५ मङ्सिर १४ गते पछिल्लोपटक कम्बोडियासँग हवाई सम्झौता गरेको थियो । २०७५ मङ्सिरमै थाइल्यान्ड र जापानसँग हवाई सम्झौताको नवीकरण गरेको थियो । यस्तै नेपाल र चीनबीच गत साउन ९ र १० गते हवाई सेवा सम्झौता पुनरवलोकन भएको छ । चीनको राजधानीमा भएको द्विपक्षीय वार्तामा सातामा ७० उडान गर्न पाउने प्रावधानमा थप गरी ९८ पुर्‍याइएको छ ।
नेपालले आशियान क्षेत्रमा इन्डोनेशियासँग मात्र सम्झौता गर्न बाँकी रहेकोले ऊसँग सम्झौता भएमा अस्ट्रेलियाका लागि उडान रूट सहज हुने मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । ‘यो क्षेत्रमा इन्डोनेशिया बाहेक सबै मुलुकसँग सम्झौता भएको छ । अहिले वार्षिक ५० हजारभन्दा बढी नेपाली इन्डोनेशिया जाने गरेको र १५ हजार जति इन्डोनेशियाली नेपाल आउने गरेको तथ्याङ्क देखिन्छ । यसैले पनि यो मुलुकसँगको सम्झौताका लागि पहल भएको हो,’ आचार्यले भने । पछिल्लो समय नेपाली घुम्न तथा हनिमुन मनाउन इन्डोनेशिया जाने क्रम बढ्दै गएको छ । 
पछिल्लो पटक कम्बोडियासँग भएको सम्झौतामा नेपालका वायुसेवा कम्पनीले हप्तामा १४/१४ पटक सीधा हवाई उडान गर्नसक्ने उल्लेख छ । तर, हालसम्म यो कार्यान्वयनको अवस्थामा देखिँदैन । निगमलाई कम्बोडियामा गन्तव्य विस्तार गर्ने बाटो खुले पनि निगमको प्राथमिकतामा कम्बोडिया छैन । लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थल बनेपछि कम्बोडियाबाट लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र पर्यटकलाई यसले सोझो फाइदा पुग्न सक्ने सरकारको 
आकलन छ । 
तीन दर्जनभन्दा बढी मुलुकसँग हवाई सम्झौता भए पनि नेपाली हवाई सेवाप्रदायकले ती सबै अन्तरराष्ट्रिय गन्तव्यमा उडान तथा अवतरणको स्वीकृति भने पाउन सकेका छैनन् ।
नेपालले हालसम्म नौओटा देशसँग मात्र हवाई उडान सञ्चालन गरेको छ । नेपालले उडान गरेका मुलुकमध्ये नेपाल वायुसेवा निगमले भारत, मलेशिया, थाइल्यान्ड, संयुक्त अरब इमिरेट्स (दुबई), कतार, हङकङ र जापान गरी सात देशका नौ गन्तव्यमा उडान गरिरहेको छ । 
निगमले भारतका दिल्ली, मुम्बई र बैंगलोर गरी तीन गन्तव्यमा उडान गरिरहको छ भने अन्य देशका एक–एक गन्तव्यमा उडान गरेको छ । निगमले भदौ १२ गतेदेखि जापानको ओशाकामा उडान शुरू गरेको हो । निगमले जापानकै टोकियोमा उडानका लागि थप तयारी थालेको छ । यस्तै चीनको राजधानी पेचिङ तथा आर्थिक केन्द्रहरू क्वाङचाऊ र साङहाईमा उडान गर्ने योजना बनाएको नेपाल वायुसेवा निगम चिनियाँ सेफ्टी अडिटको पर्खाइमा छ ।
हिमालय एयरलाइन्सले मलेशिया, दुबई (युएई), कतार, बंगलादेश र साउदी अरेबिया गरी पाँच गन्तव्यमा उडान गरिरहेको छ । हिमालयले चीनका चारओटा गन्तव्यमा उडानको तयारी गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । हिमालय एयरले भने  चिनियाँ सेफ्टी अडिट सम्पन्न गरिसकेको छ । 
निगम र हिमालयले बनाएको योजना अनुरूप उडान भए भने पनि नेपाली विमानले उडान गर्ने एउटा मात्र देश (चीन) थपिनेछ । अन्तरराष्ट्रिय उडानमा हालै मात्र अनुभव लिँदै गरेको बुद्ध एयरले एटीआर जहाज मार्फत भारतका केही शहरमा उडान गरिरहेको छ भने श्री एअरले पनि अन्तरराष्ट्रिय उडानको अनुमति पाएको छ । तर, यी दुवै एयरलाइन्सले भारत र भुटानसम्मको मात्र उडान गर्ने योजना छ ।https://www.abhiyandaily.com/newscategory-detail/357486
 

निजगढ विमानस्थल निर्माण गर्ने जग्गाको विकल्प खोजौं : वातावरणरविद्, प्रस्तावित स्थलबाट दायाँ बाँया हुँदैन : पर्यटनमन्त्री

भदौै २० काठमाडौं । सरकारले निगजढ विमानस्थल निर्माणको मोडालिटीका बारेमा छलफल गरिरहेको समयमा निजगढ विमानस्थलको विकल्प खोज्न केही वातावरणविद्हरुले आग्रह गरेका छन् । उनीहरुले प्रस्तावित बाराको निजगढ जैविक विविधतायुक्त ठाउँ भएकाले विमानस्थल निर्माणका लागि अन्य विकल्प खोज्नु पर्नेमा जोड दिएका हुन् ।
नेपाल वातावरण पत्रकार समूहले निजगढ विमानस्थलसम्बन्धी तयार पारेको मिडिया प्रतिवेदन सार्वजनिक कार्यक्रममा उनीहरुले विमानस्थल सम्बन्धी वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) विमानस्थल निर्माणका सबै पक्ष समेटेर तयार नपारिएको दावी गरेका छन् । 
वातावरणविद् प्रभु बुढाथोकीले विमानस्थलको आवश्यकता भन्दा पनि कहाँ बनाउने भन्ने विषय छलफलको विषय भएको बताए । उनले  जैविक विविधताको पाटोबाट विमानस्थललाई अन्यत्र बनाउन सक्ने सम्भावना रहेकाले त्यसतर्फ सोच्न सरकारलाई आग्रह गरे । 
वातावरणविद् बटुकृष्ण उप्रेतीले अहिले आएको इआइए विमानस्थलको इआइए रिपोर्ट नै नभएको बताउँदै त्यसलाई विमानस्थलको इआइए रिपोर्ट भनेर काम गर्न नमिल्ने दाबी गरे । उनले अहिले भनिएको एआइएमा धेरै त्रुटिहरू रहेकोले पुनः एआइए गर्नु पर्ने बताए ।  
वन तथा वातावरण विज्ञ आनन्द भण्डारीले निजगढमा पनि दुई वटा खोला र पर्सा निकुञ्ज नजिकै हुँदा पनि निर्माणको लागि उपयुक्त छ भन्नु विरोधाभाषपूर्ण भएको टिप्पणी गरे ।
वरिष्ठ पूर्व क्याप्टेन प्रचण्ड जंग शाहले जुन देशसँग आफैँले विमानस्थल निर्माण गर्ने पूर्वाधार छैन त्यस्तो अवस्थामा दक्षिण एशियाकै सबै भन्दा ठूलो विमानस्थल बनाउछौँ भन्नु काल्पनिक कुरा भएको टिप्पणी गरे । 
दायाँ बाँया हुँदैन : पर्यटनमन्त्री 
वातावरणविद्हरुको प्रतिक्रिया पछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले प्रस्तावित ठाउँमा विमानस्थल बनाउने विषयमा दायाँ बायाँ नहुने बताए । उनले वातावरणीय क्षति कसरी कम गर्ने भन्ने बाहेक यता–उता नहुने बताए ।
‘जैविक विविधिता संरक्षण सरकारको पनि चासोको विषय हो । यसमा हामी संवेदनशील छौं । यस विषयमा वातावरणसंरक्षणकर्ता तथा बुद्धिजीवीहरुले सरकारलाई उत्तेजित गराउने प्रयास गरेपनि  हामी उत्तेजित हुँदैनौं ,’ उनले भने । अहिले केही बुद्धिजीवीहरु विमानस्थल निर्माणका क्रममा धेरै रुख काटिने भयो भन्दै विरोध गर्दै हिँडेको बताउँदै उनले स्थलगत अध्ययन गरेर कति काट्ने वा नकाट्ने भन्ने विषयमा छलफल गरी निर्णयमा पुग्ने सकिने बताए । 
निजगढको विषयमा अन्तरराष्ट्रिय फोरममा पनि प्रश्न आएमा जवाफ दिन तयार रहेको बताए । ‘प्रसंग नै नभएको विषय सगरमाथाको विषयमा प्रधानमन्त्री आफैले अन्तरराष्ट्रिय मिडियामा जवाफ दिनु भयो । निजगढका लागि पनि जवाफ दिउँला ।’ वातावरण पत्रकार समूहले तयार पारको प्रतिवेदनमा स्वीकृत वातावरण प्रभाव मूल्याङकन (ईआईए)को पूरक अध्ययन गर्न सुझाव दिइएको छ । विमानस्थल निर्माणका लागि विदेशीको मुख ताक्नुभन्दा स्वदेशी लगानीमै अघि बढाउन र  विमानस्थल निर्माणका लागि ईआईएमा ८ हजार हेक्टर जमिन आवश्यक पर्ने भनिएकोमा त्यसको समीक्षा गरेर १ हजार ३ सय हेक्टर मात्र जमिन भए पुग्ने प्रतिवेदनमा उल्लेख छ । 

Thursday, 5 September 2019

नेपाल वायुसेवा निगमको जापान उडान : ओसाका उडान कटौती अब टोकियोको तयारी

काठमाडौं । पर्याप्त यात्रु नपाएपछि ओसाकाको उडान संख्या कटौती गरेर नेपाल वायुसेवा निगमले जापानको राजधानी टोकियोमा उडानको योजना बनाएको छ । टोकियोको नारिता विमानस्थलमा पुस महीनाभित्र उडान थाल्ने निगमको योजना छ । ओसाका उडान शुरू गरेकै साता निगमले पूर्वघोषित साताका तीन उडानलाई दुईओटामा झार्ने निर्णय गरेको हो । 
उडान कटौती गर्ने निर्णयलाई निगमले सही बजारीकरण गर्न र उचित समय छनोट गर्न नसकेको आरोप लागिरहेको समयमा निगमले नारिता विमानस्थलका लागि आन्तरिक तयारी थालेको हो ।
निगमको काठमाडौं–ओसाका उडान अब साताको २ दिन मंगलवार र शनिवार मात्रै हुनेछ । तत्काललाई यात्रुको संख्या कम रहेको भन्दै जापानमा उडानको संख्या घटाइएको हो । यसअघि साताको ३ दिन – मंगलवार, आइतवार र शनिवार ओसाका उडान गर्ने कार्यतालिका थियो । 
ओशाका उडानमा अपेक्षित यात्रु नभएपछि आलोचना खेपिरहेको निगम ओसाका उडान असफल भएको मान्न तयार छैन । त्यसो त, उडान शुरू गर्ने समयमै निगमका कार्यकारी अध्यक्ष मदन खरेलले कुनै पनि गन्तव्यको कुनै पनि विमान कम्पनीको पहिलो उडानमा जहाजभरि नै यात्रु हुन्छन् भन्ने नभएको तर निगम सकेसम्म बढी यात्रु उडाउने गरी प्रयासरत रहेको बताएका थिए । 
बजार अंश बढाउन निगमले विभिन्न ट्राभल एजेन्सीसँग सहकार्य गरेकाले यसको परिणाम आउन केही समय कुर्नैपर्ने निगमका अधिकारीहरूको भनाइ छ । अहिले ५० प्रतिशतसम्म यात्रु पाए पनि १ वर्षभित्रै त्यसलाई ८० प्रतिशतभन्दा बढी पुर्‍याउन सकिने उनीहरूको विश्वास छ ।
जापान उडानको लागि ७० प्रतिशत अक्युपेन्सी हुँदा खर्च धान्न सक्ने (ब्रेक इभन) अवस्था रहने अधिकारीहरूको भनाइ छ । जापान उडान गर्ने एयरबस ३३०–२०० मा १८ बिजनेश क्लास र २ सय ५६ इकोनोमी क्लासका सीट गरी २७४ सीट क्षमता छ । 
निगमले भदौ १२ गतेदेखि काठमाडौं–ओसाका तथा ओसाका–काठमाडौंका तीन उडानमा ६२९ जना यात्रुले यात्रा गरेका छन् । १२ गतेदेखि जापानको ओसाका पहिलो सिधा उडान शुरू गरेको निगमले त्यसपछि १४ र १७ गते ओसाका उडान गरेका थियो । पहिलो उडानमा नेपालबाट ४३ जना अफिसियलसहित १५६ जनाले यात्रा गरेका थिए । सोही विमानमा फर्किंदा १०० जनाले यात्रा गरेका थिए । 
त्यस्तै दोस्रो उडानमा जाँदा ७६ जना र आउँदा १३८ जना यात्रु थिए भने तेस्रो उडानमा जाँदा ५६ जना र आउँदा १३८ जना यात्रु सहभागी रहेको निगमले जानकारी दिएको छ । तीन उडानमा कुल ६२९ जनाले यात्रा गरेको र त्यसमध्ये ५८६ जना यात्रु र ४३ जना अफिसियल रहको निगमका सह–प्रवक्ता सुलेख मिश्रले जानकारी दिए । 
जापान उडानको वार्षिक ४३ हजार सीट क्षमता रहेकोमा वार्षिक ३५ हजार यात्रुवहन गर्ने लक्ष्य निगमको छ । सन् १९९४ देखि निगमले ओसाका उडान गर्दै आएकोमा सन् २००७ मा जहाजको संख्या अपुग भएको भन्दै स्थगन गरेको थियो । त्यो समय निगमले बोइङमार्फत काठमाडौं–साङहाई–ओसाका उडान गर्ने गथ्र्याे । अहिले भने वाइड बडी ए–३३०–२०० बाट भने काठमाडौं–ओसाका सिधा उडान हुन्छ । निगमका अनुसार दशैं, तिहार र त्यसपछिको समयमा हालको उडान संख्या बढाइनेछ । निगमले वाइड बडी जहाज ल्याएको १ वर्षपछि पहिलो पटक लामो गन्तव्यका रूपमा जापान उडान गरेको थियो ।

Wednesday, 4 September 2019

दलहरूले अपनत्व लिन नसक्दा संघीयता टुहुरो र बेवारिसे जस्तो बनेको छ

मुलुकमा संघीयता कार्यान्वयन भएको डेढ वर्ष बितिसक्दा संघीयता कार्यान्वयनको विषय सहज बन्न सकेको छैन । संघ, प्रदेश र स्थानीय सरकारका बीचमा अधिकार बाँडफाँट विवादित बनेको छ । नीतिगत समस्या अझै निराकरण हुन सकिरहेको छैन । संघीयता कार्यान्वयनको अवस्था किन पेचिलो बन्दै गएको छ त ? प्रस्तुत छ, संघीयता कार्यान्वयनमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या र समाधानका उपायबारे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसँग आर्थिक अभियानका टीपी भुसाल र मिलन विश्वकर्माले गरेको कुराकानीको सार :
मुलुक संघीय अभ्यासमा गएपछिको यो अवधि संघीयता कार्यान्वयनका दृष्टिले कति सहज, कति असहज रह्यो ? संघीयता कार्यान्वयन पेचिलो बन्दै गएको हो ?
नेपाल संघीय शासन प्रणालीमा जाँदा नै यस विषयमा जति छलफल हुनुपर्ने हो, त्यो हुनसकेन जसका कारण संघीयता कार्यान्वयन  अपेक्षित ढंगले अगाडि बढेन । संघीयताको अपनत्व अहिलेका सत्तारुढ दल तथा प्रतिपक्षले नै राम्रोसँग लिन सकेका छैनन् । त्यसले गर्दा कता कता यो संघीयता टुहुरो, बेवारिसे जस्तो बनेको छ । एउटा कम्युनिस्ट पार्टीको दुई तिहाइ बहुमतको सरकार, ६ प्रदेशमा उसको दुई तिहाइको सरकार नै छ । यस्तो बेला संघीय शासन प्रणाली जुन रफ्तार, सहजता र आयतनका साथ जानुपर्ने थियो, त्यसरी नजानुको कारण कम्युनिस्ट पार्टीभित्र पनि संघीयता कार्यान्वयनको सम्बन्धमा पर्याप्त छलफल नै भएको छैन । संघीयता कार्यान्वयन गर्ने सवालमा कहाँ कहाँ समस्या छ, संघ र प्रदेशबीचको अन्तरद्वन्द्व कहाँनेर छ, प्रदेश र स्थानीय तहबीचको अन्तरद्वन्द्व कहाँनेर छ, यसलाई सहजता पूर्वक लैजान संघले के के कुरामा सहजीकरण गर्नुपर्छ, त्यो कुरा संघीय सरकारले प्राथमिकताका साथ ल्याउनुपर्थ्यो, तर अझै अन्योल र अलमल कायमै छ । संघीयताको सहज कार्यान्वयनका लागि यी विषयको समाधान आवश्यक छ ।
 
यो असन्तुष्टि त गत वर्ष पोखरामा मुख्यमन्त्रीहरूको भेला गरेरै तपाईंहरूले  व्यक्त गर्नुभयो । त्यसपछि अन्तरपरिषद् बैठक पनि भए । यो विषय संघलाई यहा“हरूले बुझाउन नसक्नु भएको कि संघका नेताहरूले बुझ्न नचाहेको ?
हामीले बुझाउन नसेकेको होइन कि उहाँहरूले बुझ्न नचाहेको देखियो । गण्डकी प्रदेशको मुख्यमन्त्रीको नेतृत्वमा पोखरामा गरिएको मुख्यमन्त्रीहरूको भेलालाई संघीय सरकारले चुनौतीको रूपमा लियो । संघीय सरकारको विरुद्धमा प्रदेश सरकार एकजुट हुन खोजे भन्ने ढंगले बुझियो तर, हाम्रो उद्देश्य त्यस्तो थिएन । मुख्यमन्त्रीहरूले व्यावहारिक कठिनाइलाई उठाएका थिए, जसको समाधान संघले मात्र गर्न सक्दथ्यो । तर, संघीय सरकाररूारा यसलाई ‘इगो’ को रूपमा हेरियो । तिमीहरूले भेला गर्छौ भने हामीले अन्तर प्रदेश परिषद्को बैठक नै बोलाउँदैनौं भन्ने खालको प्रतिक्रया आयो जसले प्रदेश र संघको बीचमा अविश्वास पैदा ग¥यो । त्यो हुनु नै गलत थियो । किनभने, हामीले कुनै संघको सरकारलाई फाल्न वा संघको प्रतिवादका लागि भेला गरेकै होइन । त्यो बेला हाम्रो ६–७ महीनाको अनुभव कस्तो रह्यो, हामीले के के समस्या भोग्यौं, यी समस्या समाधानका लागि साझा सहमति के के विषयमा गर्ने भन्ने छलफल गरेका हौं । केन्द्रीय सरकारलाई के सुझाव दिने भनेर छलफल चलाएका हौं । त्यो देखेर सिंहदरबारका मान्छेहरू तर्सिए । त्यसपछि प्रदेश सरकारको गतिविधि नसहने मानसिकताले समस्या सृजना गरेको हो ।
तपाईंहरूले कुरा उठाएको केही समयपछि सिंहदरबारमा केन्द्रीय सरकारले अन्तर प्रदेश बैठक बोलायो । त्यसपछि केही उपलब्धि भए ?
समयमा बैठक नराख्नु संघको तर्फबाट ठूलो गल्ती थियो । भदौदेखि मङ्सिर र त्यसपछि पुसको ३ गते दोस्रो बैठक गर्दासम्म धेरै समय बितिसकेको थियो । संवैधानिक व्यवस्था अनुसार अन्तरप्रदेश बैठक त बस्नैपर्ने रहेछ । त्यो नै हो समस्या समाधानको संरचना, जहाँ प्रधानमन्त्री, केन्द्रीय अर्थ र गृहमन्त्री तथा मुख्यमन्त्री रहन्छन् । त्यो संरचना माध्यमबाट समाधान गर्नुको सट्टा त्यसको बैठक नै नबोलाएपछि के समस्या सृजना भयो ? त्यसैले हामीले यसको सचिवालय गठन गर्न, कार्यविधि बनाउन, नियमित बैठक बोलाउन प¥यो भनेका छौं । यो कसैको इच्छा वा सुविधाको आधारमा होइन कि संवैधानिक ढंगले नै हो । त्यसो भन्दा पनि संघले सहज रूपमा लिएन । यसले अर्को समस्या सृजना ग¥यो । तथापि पहिलो र दोस्रो बैठकले जे निर्णय गर्‍यो, ती निर्णय एकदमै महŒवपूर्ण थिए । हामीले २९ ओटा विषयमा संघीयता कार्यान्वयनको एजेन्डा पास गरेका थियौं । २९ एजेन्डा तय गर्दा ८४ ओटा कार्यक्रम सम्पन्न गर्ने भनेका थियौं । बैठकबाट केही कुराहरू समाधान भएका छन् । तर, अझै गर्नुपर्ने धेरै काम बाँकी नै छन् । तर संघ सरकारलाई हाम्रो चासो र संवैधानिक व्यवस्थाका बारेमा स्पष्ट पार्ने काम भएको छ ।
भनेपछि प्रधानमन्त्री आफै संघीयताको विरोधी पो देखिनुभयो, होइन ?
संघीय सरकार मातहत प्रदेश, प्रदेश मातहत स्थानीय जस्तो अभिव्यक्ति प्रधानमन्त्रीबाट आएकै हो । अहिले पनि कतिपय अवस्थामा हेर्ने हो भने प्रधानमन्त्रीले अधिकार केन्द्रीकरण गरेको देखिन्छ । यो सबै संघीय चरित्रअनुसार भएन । यसलाई सुधार गर्दै जानुपर्छ कि पर्दैन ? संघीय प्रणालीमा एउटा सर्वमान्य सिद्धान्त के हो भने संघीय प्रणालीमा सिनियर जुनियर सरकार हुँदैन । संघको सरकार सिनियर, स्थानीय सरकार जुनियर भन्ने हुँदैन । हाम्रो तीन तहको सरकार छ । संघ, प्रदेश र स्थानीय सरकारका आ–आफ्नै अस्तित्व छ । फरक यति मात्र हो, नेपाल सरकारसँग तीन–चारओटा विशेष अधिकार छन्, जुन प्रदेश सरकारसँग छैन । सिंगो राष्ट्रको सुरक्षाको जिम्मा, आन्तरिक सुरक्षाको जिम्मा, अन्तरराष्ट्रिय सम्पर्क सन्दर्भको कूटनीति, राष्ट्र बैंक चलाउने÷मुद्रा छाप्ने बाहेक अरू सबै अधिकार तल छ । त्यसकारण हामी प्रदेश सरकार नेपाल सरकारको मातहतमा होइन । संघमा चाहिँ हाम्रो ‘पावर शेयरिङ’ छ । तलको सरकारमा भने विशेष स्वायत्तता छ । त्यो सिद्धान्तमा हामी जानुपर्छ ।
 
तीन तहको अधिकारको विषय त संविधानले नै स्पष्ट पारेको छ । तर अधिकारको विषयमा पनि तीन तहबीच कतिपय अवस्थामा झगडा भएको देखिन्छ । यस्तो किन ?
 नेपालमा तीन तहको कि दुई तहको सरकार हुने भनेर कहिले पनि गम्भीर छलफल भएन । समान्यतया हामीले दुई तहको सरकार नै भनेका थियौं ।  प्रदेश कतिओटा बनाउने भन्ने कुरा मात्र थियो । संघ र प्रदेश सरकार हुन्छन् भन्ने थियो । स्थानीय तहमा प्रदेश अन्तर्गत त्यसका एजेन्सीहरू हुन्छन् भन्ने खालको अवधारणा हो । पछि संविधान बनाउने बेलासम्म आउँदा राजनीतिक दलका नेतालाई लाग्यो कि दुई तहको मात्र सरकार बनाउँदा प्रदेश सरकार शक्तिशाली हुन्छ, संघ कमजोर हुन्छ । त्यसकारण प्रदेश सरकारलाई अलिकति साइजमा ल्याउन स्थानीय सरकार बनाउन प¥यो भन्नेमा पुगे । त्यो बेला मधेशलाई देखाएर त्यो प्रयास भयो । किनभने धेरै नेताहरू स्थानीय स्वायत्तताको कुरा उठाउँदै आएका थिए, विकेन्द्रीकरणको कुरा उठाइरहन्थे । विकेन्द्रीकरणमा चलेको भए मुलुक संघीयतामा जानुपर्ने नै थिएन नि । विकेन्द्रीकरण संसारमा असफल व्यवस्था हो । क्षेत्रीय विकासको कुरा पनि असफल व्यवस्था हो । त्यसकारण हामी संघीय शासन प्रणालीमा जानुपर्ने बाध्यता आएको हो । अधिकारको विषय कतिपय स्पष्ट नै छ, जहाँ स्पष्टता छैन, त्यसमा कानूनद्वारा स्पष्ट पार्दै जानुपर्छ ।
 
तीन तहका सरकारबीचको स्रोतमाथिको लडाइँ, जनतालाई सुविधाभन्दा सास्ती धेरै अनि सबै तहमा हुने खर्चका हिसाबले पनि संघीय व्यवस्था नै मह“गो रहेछ भन्ने टिप्पणी आउन थालिसके । तपाईंको धारणा के छ ?
विगतमा पनि स्थानीय तहमा पनि कुनै न कुनै संरचना त थियो । पहिले केन्द्र र स्थानीय सरकार सहित दुई तहको संरचना थियो । । अहिले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको शासकीय संरचनामा हामी गएका छौं । तर, संघीयताको मूल मर्म बोकेर आएको नयाँ संरचना प्रदेश मात्र हो । अमेरिका, क्यानडा, अस्ट्रेलिया, जर्मनी, रूस, स्पेन र भारत यी सबै देशमा संघीय शासन प्रणाली छ । उदाहरणको रूपमा स्वीजरल्यान्ड जनसंख्या र भूगोलका हिसाबले पनि हामीभन्दा सानो मुलुक हो । तर त्यहाँ २६ ओटा प्रान्तीय सरकार छन्, उसले त्यसलाई धानेको छ । पहाडी मुलुक भएर पनि संसारकै धनी मुलुकमध्ये एक बनेको छ । त्यो संघीयता भएर नै सफल भएको हो । त्यसकारण संघीय प्रणालीमा प्रश्न उठाउँदा यो विषयमा अध्ययन गर्नुपर्छ । प्रदेश सरकारमाथि जुन प्रश्न उठाइएको छ, त्यो संघीयता विरोधीको प्रलाप मात्र हो । संघीय प्रणाली तुलनात्मक रूपमा महँगो प्रणाली हो नै । एउटा सरकारको ठाउँमा ७६१ ओटा सरकार भएपछि स्वतः महँगो हुन्छ । तर हामीले ८ ओटा सरकार हुने ठाउँमा यतिका बनायौं । अध्ययन नै नभएर जिल्ला सभा पनि बनाएका छौं । त्यो अनावयश्क बोझ हो । जनताका लागि यो भन्दा सस्तो र सहज प्रणाली अन्त छैन । स्रोत माथिको अधिकारको विषयमा पनि कानूनतः स्पष्ट हुँदै जानुपर्छ ।
 
तर जनताबाट कर उठाउने, महँगा–महँगा गाडी किन्ने, आफ्नै सुविधामा रमाउने, तर जनता भने सधैं उस्तै । यो त सत्य हो नि ?
 संघीय सरकारको गाडी किनेको कसैले नदेख्ने तर प्रदेश सरकारले भने गाडी चढेको मात्र देख्ने ? स्थानीय तहले हामीले भन्दा पहिले नै गाडी किनिसकेका थिए । माथि संघ भइहाल्यो, बीचमा त राजस्व उठाउने र खर्च गर्ने, गाडी किन्ने प्रदेश मात्र भयो भन्ने खालको पनि टीकाटिप्पणी भए । संघीयतामा प्रदेश नै आवश्यक हो कि होइन भन्ने बहस हुन थाल्यो । कहाँ कति धेरै खर्च भएको छ तुलना गरौं न । आज आर्थिक नियमावली अनुसार चलेको छ भने संघ र स्थानीय होइन, प्रदेश सरकार मात्र हो । प्रदेश सरकार गाडी मात्र किनेर बसेको छैन । देखिनेगरी काम पनि गरेका छौं । १५–२० वर्षदेखि केन्द्र मातहतमा रहेर नबनेका बाटो, पुलहरू प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेपछि बनिसक्यो । प्रदेश सरकारहरूले अबको ५ वर्षभित्र प्रदेश कस्तो बनाउने भनेर योजना बनिसकेको छ । त्यस कारण प्रदेश सरकारले केही गरेर केही भएन भनेर भन्नु गलत कुरा हो । जनताले पनि केन्द्रमा आएर लिनुपर्ने सुविधा तल्लो तहमा पाउन थालेका छन् । हिजो जिल्लाको कुना कुनाबाट साना साना काम गर्न पनि काठमाडौं वा सदरमुकाम धाउनुपर्ने अवस्था थियो । अहिले त्यो अवस्था छैन । अहिले सबै काम वडामार्फत हुन्छ ।
 
प्रदेशहरूले आफ्नो योजना बनाइसके भन्नुभयो । गण्डकी प्रदेश ऊर्जा, पर्यटन सबैका हिसाबले पनि सम्पन्न छ । प्रदेशको समृद्धिका लागि तपाईंका योजना केके छन् ?
पर्यटकीय, सांस्कृतिक हिसाबले गण्डकी सम्पन्न प्रदेश हो । हामी ‘नेचर, कल्चर एन्ड एड्भेन्चर’ भन्छौं । यस हिसाबले ७ ओटा प्रदेशमा सबैभन्दा धनी हामी छौं । दोस्रो– प्रकृतिले नै हामीलाई मुलुकको मुटुमा राखिदियो । हाम्रो प्रदेश बीचमा छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माणपछि हामीलाई अन्तरराष्ट्रिय तथा राष्ट्रिय लिंकअप गर्ने कुरा हामीलाई कुनै समस्या हुनेछैन । यो हामीलाई प्रकृतिले दिएको वरदान हो । अब प्रदेशलाई समृद्ध कसरी बनाउने भनेर प्रथम पञ्चवर्षीय योजना, १०–१२ वर्षीय मध्यमकालीन योजना र २५ वर्षको  दीर्घकालीन योजना बनाएका छौं । त्यही फ्रेमभित्र रहेर प्रदेशको विकासमा लागिपरेका छौं ।
 
आर्थिक विकासका लागि प्रदेशका प्राथमिकता क्षेत्र के के हुन् ?
हामीले पहिलो प्राथमिकता पर्यटन भनेका छौं, दोस्रो ऊर्जा, तेस्रो कृषि, चौथो उद्योग, पाँचौं पूर्वाधार, छैटौं जनशक्तिको विकास र सातौं सुशासन । लगानीको हिसाबले तथ्यांक विभागले जे जे तथ्यांक निकाल्यो, त्यस हिसाबले ५ वर्षभित्र रु १० खर्ब १२ अर्ब चाहिन्छ । लगानी हिसाबले हाम्रो पहिलो नम्बरको ऊर्जा हुँदो रहेछ । दोस्रो पूर्वाधार, तेस्रो कृषि, चौथो उद्योग, पाँचौं पर्यटन  र छैटौं सामाजिक क्षेत्र छ । यी सबै क्षेत्रहरूलाई समेटेर नै आर्थिक समृद्धिमा पुग्ने हो ।
प्रदेश सरकारले अघि सारेका योजनाका लागि प्रदेशको आयले मात्र पुग्दैन होला, यसका लागि कसरी लगानी जुटाउने योजना छ ?
 हाम्रो प्रदेशको गरीबी १४ दशमलव २ प्रतिशत छ । ५ वर्षभित्र ७ मा झार्ने भनेका छौं । १० वर्षभित्र १ मा झार्ने भनेका छौं । त्यो भनेको शून्य नै हो । २०३० मा गरीबविहीन प्रदेश बनाउने योजना छ । त्यसका लागि लगानी त्यही अनुसारको वृद्धि गर्नुपर्नेछ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा योगदान बढाउनुपर्ने नै छ । जीडीपीमा योगदान बढाउन ५ वर्षभित्र १० खर्ब १२ अर्ब लगानी चाहिन्छ । त्यो सरकार, निजीक्षेत्र, सहकारी, विदेशी लगानी गरी स्रोत जुटाइनेछ । यसका लागि प्रदेश सरकारले लगानी सम्मेलनको तयारी पनि गरिरहेको छ । त्यसका लागि पहिले अन्तर सहकारी वित्तीय ऐन नै संशोधन गर्नुपर्छ । त्यसमा कुनै विदेशीले प्रदेश तथा स्थानीय तहमा लगानी गर्न आउने भयो भने शुरूमा संघ सरकारसँग नसोधी तल आउन नै नपाउने व्यवस्था छ । यसले प्रदेशमा लगानीको वातावरणमा अवरोध सृजना गरेको छ । लगानी गर्न चाहनेहरू छन्, तर कानून नहुँदा समस्या भएको छ । त्यसैले यो कानून संशोधन हुन आवश्यक छ । गर्न सक्नेलाई त गर्ने ठाउँ दिनुपर्‍यो नि । किन हातखुट्टा बाँधेर राख्ने ? संघ सरकारसँग मेरो यही गुनासो छ । हामी लागिपरेका छौं । यही विषयमा सातै प्रदेशको एउटै आवाज बनाउने भनेर भन्दा मुख्यमन्त्री भएर राजनीति ग¥यो भन्ने आरोप लाग्छ । हामी स्वायत्त सरकार हौं भन्ने संघीय सरकालाई अनुभूति नै छैन । तर, त्यो कुरा हामीले स्थापित गरेर नै छाड्छौं । त्यो नभईकन मुलुकमा विकास पनि हुँदैन ।
 
सरकार त तलदेखि माथिसम्म कम्युनिस्टहरूकै छ । तर पनि नीतिगत सुधारमा यो अड्चन किन ?
नेकपाभित्र नै विविधतासँगै धेरै विभीषणहरू पनि छन् । यो हुन नदिनु तिनीहरूकै काम हो । प्रधानमन्त्री बिरामी मान्छे, तर आज पनि उहाँ १८ घण्टा खटेर काम गर्नुहुन्छ । यति हुँदा हुँदै पनि हामी सबैले उहाँलाई गाली गरिरहेका छौं, किन ? जनताले प्रदेशमा दुई तिहाइ र संघमा झन्डै दुई तिहाइ मत दिएका छन् । तर यो कम्युनिस्टलाई पचेन । नेकपाको नेताहरूको गतिविधि के छ ? म कुन पद पाउने, म चुनावमा लड्न पाउने कि नपाउने भनेर झगडा गर्ने कि यो सरकारलाई सफल बनाउन लाग्ने ? समाजवादमा पुग्नु छ भने त्यसको मार्गचित्र के हो, त्यसमा छलफल हुनु पर्दैन ? समस्या यहाँनेर छ । यी समस्याको सहज समाधान खोज्न सकिन्छ । इच्छा शक्ति हुनुप¥यो । मुलुकलाई आर्थिक समृद्धि र स्थायित्वको बाटोमा लैजाने रोडम्याप पनि यही नै हो ।

ओसाका उडान साताको दुई दिन मात्रै

काठमाडौं । नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै जापानको ओसाकामा उडान गर्ने भएको छ । भदौ १२ गते देखि जापानको ओसाका सीधा उडान शुरू गरेको निगमले तत्काललाई यात्रुको संख्या कम रहेको भन्दै जापानमा उडानको संख्या घटाएको हो । यसअघि निगमले साताको तीन दिन मंगलवार, आइतवार र शनिवार ओसाका उडान गर्ने कार्यतालिका थियो । अब भने सातामा मंगलवार र शनिवार मात्र ओसाका उडान हुनेछ ।
सन् १९९४ देखि निगमले ओसाका उडान गर्दै आएकोमा सन् २००७ मा जहाजको संख्या अपुग भएको भन्दै उडान स्थगन गरेको थियो । त्यो समय निगमले बोइङ मार्फत काठमाडौं–साङहाई–ओसाका उडान गर्ने गर्थ्यो  ।
अहिले भने वाइड बडी ए–३३०–२०० बाट भने काठमाडौं–ओशाका सीधा उडान हुन्छ । निगमले  ओसाकास्थित कन्साई इन्टरनेशनल विमानस्थलमा निगमको २७४ सिट क्षमताको वाइड बडी ए–३३०–२०० मार्फत पहिलो उडान गरेका थियो । त्यसयता जम्मा तीन ओटा उडान मात्र भएका छन् ।
पर्याप्त मात्रामा यात्रु नभएकाले उडान तालिका संशोधन गरी सातामा दुई दिन मात्रै ओसाका उडान गरिने निगमका सहायक प्रवक्ता सुलेख मिश्रले जानकारी दिए । निगमका अनुसार दशैं, तिहार र त्यसपछिको समयमा हालको उडान संख्या बढाएर चार पु¥याइने छ ।
निगमले वाइड बडी जहाज ल्याएको एक वर्षपछि पहिलो पटक लामो गन्तव्यको रूपमा जापान उडान गरेको थियो । वाइडबडी विमानले पनि निगमका पुराना गन्तव्यमा उडान गरिरहेका थिए । निगमले जापानसहित आठ देशका नौ गन्तव्यमा उडान गर्दै आएको छ ।

पर्यटन क्षेत्रमा आकर्षण र लगानी बढ्दो

सरकारी तथा निजीक्षेत्रबाट पर्यटन क्षेत्रमा भइरहेको लगानीले यो क्षेत्र लगानीका लागि आकर्षक क्षेत्र बन्दै गएको छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भिœयाउने लक्ष्यसहित पर्यटन प्रवर्द्धनमा लागि रहेको समयमा ठूला हवाई पूर्वाधार निर्माण, पाँच तारे होटलदेखि संरचना निर्माणदेखि निजी विमान सेवा कम्पनीहरूले थप्दै गरेका जहाज र बढाउँदै गरेको गन्तव्यले पनि यो क्षेत्रलाई चलायमान बनाउँदै लगेको छ । सरकारले ठूला हवाई पूर्वाधारमा लगानी गरेको छ भने निजीक्षेत्रले होटल तथा जहाजहरूमा लगानी थपिरहेका छन् । यो क्षेत्रमा बढिरहेको लगानीले आर्थिक विकासमा पर्यटन क्षेत्र महत्त्वपूर्ण क्षेत्रका रूपमा देखिएको छ ।
पूर्वाधार विकास
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको रनवे रिह्याविलिटेशन (नयाँ पीच फेर्ने काम) तथा पार्किङ एरिया विस्तार जस्ता कामले विमानस्थलको क्षमता बढेको छ । अब विमानस्थल दैनिक २४ घण्टा सञ्चालन गर्न सकिने अवस्थामा पुगेको पर्यटन मन्त्री योगेश भट्टराईको धारणा छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउनेदेखि ट्याक्सी वेको काम पनि सँगसँगै अगाडि बढेको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको ८३ प्रतिशत काम सकिएको छ । सरकारले विमानस्थलको सिभिल र मेकानिकल काम डिसेम्बरभित्र सम्पन्न गरी २०२० जनवरीमा अन्तरराष्ट्रिय परीक्षण उडान गर्ने लक्ष्य लिएको छ । यस्तै पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको ४५ प्रतिशत काम सम्पन्न भएको छ । यस विमानस्थलको निर्माण पनि निर्धारित समयअघि नै सम्पन्न गर्ने र सबै प्रदेश राजधानीका विमानस्थललाई कम्तीमा ७० सीटभन्दा माथिका जहाज उडान तथा अवतरण हुन सक्नेगरी स्तरोन्नति र विस्तार गर्ने सरकारको योजना छ ।
बारास्थित निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई अगाडि बढाउन लगानी बोर्डसँग छलफल गरी लगानीको मोडालिटी तयार गर्ने सरकारी क्रियाशीलताले हवाई पूर्वाधार निर्माणले थप गति लिने अपेक्षा छ । झापाको चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा उपकरण जडान गरी रात्रिकालीन उडान शुरू गरिएको छ । यसले हवाई पूर्वाधार विकासमा नयाँ आयाम थप्नेछ ।
पाँच तारे होटलमै १० अर्बभन्दा बढी लगानी
पछिल्लो १ वर्षमा होटल पूर्वाधारमा पनि अर्बौं लगानी भएको छ । पर्यटन विभागको तथ्याङ्क र सम्बद्ध होटलका अनुसार १ वर्षमै चारओटा पाँचतारे होटलमा १० अर्बभन्दा बढी लगानी भएको छ । यस्तै पर्यटकीय स्तरका होटल तथा अन्य साना होटलहरूमा पनि लगानी बढ्दो छ ।
चालू आर्थिक वर्ष (आव) को पहिलो महीनाको तथ्याङ्क अनुसार पछिल्लो एकै वर्षभित्र तारे होटल र पर्यटक स्तरका होटल गरी ४६ ओटा होटल थपिएका छन् । आव २०७५/७६ मा १६ ओटा तारे र ३० पर्यटक स्तरीय होटल थपिएको विभागको तथ्याङ्कमा उल्लेख छ । २ वर्ष अगाडिसम्म १० ओटामा सीमित पाँचतारे होटलको संख्या हाल १५ पुगेको छ । यस्तै चारतारे होटल पनि पछिल्लो २ वर्षमै ११ ओटा र तीन तारेको संख्या ३४, दुईतारे ४३ र र एक तारको संख्या ३६ पुगेको छ । पर्यटक स्तरका होटलको संख्या ५२३ ओटा पुगेको छ । होटल विस्तारको क्रम राजधानीमा मात्र नभएर प्रादेशिक स्तरमा समेत बढेको होटल संघ नेपालले जानकारी दिएको छ ।
हवाई सम्झौता, जहाज र गन्तव्य थपिँदै
३९ देशसँग हवाई सम्झौता गरेको नेपालले थप पाँच देशसँग हवाई सम्झौताको तयारी गरेको छ । पछिल्लो समय नेपालले फिनल्यान्ड, इन्डोनेशिया, रूस अस्टे«लया र इन्डोनेशियासँग हवाई सम्झौताको तयारी गरिरहेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।
सम्झौताको तयारी गरिएका देशमध्ये फिनल्यान्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि रुचि देखाएको हो भने अन्य मुलुकसँग नेपालले चासो बढाएको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । यी मुलुकमध्ये रूस पहिले सम्झौता तथा उडान समेत भएको तर हाल उडान बन्द भएको मुलुक र अन्य नयाँ मुलुक हुन् ।
यस्तै नेपाल वायुसेवा निगमले ल्याएका दुईओटा वाइडबडीले भदौ १२ गतेबाट नेपाल जापानको ओशाकामा उडान शुरू गरिसकेको छ । ओशाका उडानसँगै निगमको गन्तव्य संख्या नौ पुगेको छ । निगमले जापानकै नारिता उडानका लागि थप तयारी थालेको छ । यस्तै चीनको क्वानचाउ, साउदीको रियाद जस्ता गन्तव्यमा उडानका लागि निगमको पहल जारी छ ।
यस्तै हाल पाँचओटा अन्तरराष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको हिमालय एयर लायन्सले समेत चीनका चारओटा गन्तव्यमा उडानको तयारी गरेको छ । एयरलाइन्सले सेप्टेम्बर अन्त्यसम्ममा एयर बस ३१९ ल्याएर अक्टोबरदेखि चीनको राजधानी पेचिङसहित चाङसी, नाङचाङ, र गुयानमा उडान गर्न लागिएको एयरलायन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।
बुद्ध एयरले समेत आन्तरिक उडानमा थप विमान थप्ने योजनामा छ । यस्तै बुद्ध एयरले एटीआर जहाज थप गरेर आन्तरिक तथा बा≈य उडानमा आप्mनो उपस्थिति बलियो बनाउने र त्यसका लागि पाइलट उत्पादन तथा अन्य तयारी भइरहेको बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताएका छन् । बुद्धले देशका विभिन्न आठ गन्तव्यका साथै भारतको कोलकत्ता र बनारसमा पनि उडान गरिरहेको छ ।
यस्तै श्री एयरलाइन्सले अन्तरराष्ट्रिय उडानको अनुमति पाएको छ । साउन २७ गते भारतको बनारसमा परीक्षण उडान सम्पन्न गरिसकेको श्रीले बङ्गलादेशको ढाका र भारतको चार गन्तव्यमा अनुमति पाइसकेको छ । चारओटा जहाज मार्फत उडान गरिरहेको श्रीले भदौ पहिलो र दोस्रो हप्ता मात्रै ८० सीट क्षमताका दुईओटा टर्बोजेट काठमाडौं ल्याइसकेको छ । यस्तै यतिले एटीआर ७२–५०० पाँच र जेटस्ट्रिम–४१ सिरिजका पाँच गरी १० ओटा जहाज पुर्‍याएको छ । यतिले गत महीना मात्रै नयाँ एटीआर जहाज थपेको हो । कम्पनीका प्रवक्ता भीमराज राईका अनुसार उक्त जहाजले हालकै गन्तव्य तथा छिट्टै धनगढी लगायत क्षेत्रमा उडान गर्ने छ । यतिले अहिले देशका विभिन्न पाँच स्थानमा उडान गर्दै आएको छ । उसैको अर्को सहायक कम्पनी तारा एयरका विभिन्न खालका सातओटा जहाजले दुर्गम क्षेत्रमा हवाई सेवा दिइरहेका छन् । सौर्य, सिम्रिक, सीता एयर पनि आफ्नो सेवालाई थप प्रभावकारी बनाउने प्रयासमा देखिन्छन् । यस्तै पछिल्लो समय हेलिकोप्टर कम्पनीहरूले पनि हेलिकोप्टर थपिरहेका छन् । हाल नेपालमा १० ओटा हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् ।
भ्रमण वर्षको तयारी
नेपाल भ्रमण वर्ष २०२० मा कम्तीमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य छ । सन् २०१९ को पहिलो ६ महीनामा झन्डै ६ लाख पर्यटक नेपाल आएका छन् । सन् २०१८ मा करीब १२ लाख पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार जनवरीदेखि जुनसम्म नेपालमा ५ लाख ८५ हजार ५३१ जना पर्यटक घुम्न आएका छन् । पछिलो राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा भएका प्रर्वद्धनात्मक कार्यले यो संख्या बढाउने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको धारणा छ । भ्रमण वर्ष सफल बनाउन सरकारले विभिन्न प्रर्वधनात्मक कार्य गरिरहेको छ ।
अबको बाटो
नेपाललाई यूरोपेली संघ (ईयू) को कालोसूचीबाट हटाउनु र निर्माणधीन विमानस्थलहरूलाई समयमै सम्पन्न गरी अन्तरराष्ट्रिय उडानका लागि बाँकी काम गर्नु आफैमा चुनौतीपूर्ण त छँदै छ । वाइडबडी विमान खरीदमा भएको अनियमितता, जहाज खरीद गर्दाको ऋण किस्ता तिर्न भएको विलम्बले निगमलाई आलोचनाको केन्द्रमा बनाएको छ । यसको निराकरण र निर्माणाधीन विमानस्थलहरूको समयमै निर्माण सम्पन्न गरी अन्तरराष्ट्रिय उडानका लागि पहल आवश्यक छ ।
पर्यटन विकासका लागि पूर्वाधार र कनेक्टिभिटी पहिलो शर्त भए पनि सोही अनुरूपको पूर्वाधार विकास हुन नसकेको गुनासो निजीक्षेत्रको छ । होटल लगायत पूर्वाधारमा निजीक्षेत्रको लागानी बढिरहे पनि अन्य पूर्वाधार निर्माणको काममा अपेक्षा अनुरूप काम नभएको होटल एशोसिएशन नेपाल हानका उपाध्यक्ष विनायक शाहको भनाइ छ । अर्कोतर्फ नेपालमा दुई दर्जनभन्दा बढी विदेशी विमान कम्पनीले नियमित उडान गर्दै आए पनि नेपालका आफ्नै विमानहरूबाट भने नगन्य रूपमा मात्र अन्तरराष्ट्रिय उडान भएका छन् । निगमले वाइडबडी जहाज ल्याएको डेढ वर्षमा बल्ल लामो दूरीको पहिलो उडान गरेको छ भने निजीक्षेत्रले अन्तरराष्ट्रिय उडानमा पनि आक्रामक बजार विस्तार गर्न सकेको देखिँदैन । तीन तहकै सरकारले पर्यटनलाई आर्थिक विकासको प्रमुख आधार मानिरहे पनि तदनुरूपको काम भने भएको पाइँदैन । यसका लागि सरोकारवालाहरूका बीचमा समन्वय र सहकार्य आवश्यक छ ।

Tuesday, 3 September 2019

निजगढको विकल्प खोजिँदैन : पर्यटन मन्त्री

काठमाडौं । संघीय सरकारले निजगढ अन्तरराष्ट्रिय विमानस्थलको विकल्प नखोज्ने बताएको छ । संघीय पर्यटन मन्त्री योगेश भट्टराईले आर्थिक अभियानसँग कुरा गर्दै सरकारले विभिन्न ठाउँको अध्ययन पश्चात् नै निजगढ टुङ्गो लगाएकाले यसको विकल्प नखोजिने प्रतिक्रिया दिए । ‘त्यहाँको बस्ती व्यवस्थापन र रूख कटानको विषयमा संघ, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय अगाडि बढाइने छ । कम क्षति हुने गरी नै विमानस्थलमा रूख काटिने छ,’ उनले भने ।
निजगढ विमानस्थलको लगानी र मोडालिटीबारे टुङ्गो लगाउने तयारी गरिरहेको समयमा शनिवार प्रदेश नम्बर २ को सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले निजगढमा विमानस्थल बनाउन नदिने खालको अभिव्यक्ति दिएका थिए ।  मन्त्री रायले निजगढमा विमानस्थल निर्माण गर्दा लाखौं रूख कटान गर्नुपर्ने भएको र यस विषयमा संघीय सरकारले प्रदेशसँग समन्वय नगरेको भन्दै संघीय सरकार आपूmखुशी हिँड्न खोजे अदालत जाने बताएका थिए ।
मन्त्री भट्टराईले मन्त्री रायको अभिव्यक्तिका विषयमा प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसँग पनि कुराकानी भएको र प्रदेश सरकारको तर्पmबाट आधिकारिक रूपमा विमानस्थल बनाउन नदिने भन्ने कुरा नआएको बताए । यद्यपि उनले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यस आयोजनालाई अगाडि बढाउँदा सरोकारवालाहरूसँग आवश्यक छलफल गरेरै अगाडि बढ्ने बताए । ‘यो देशको आवश्यकताको विषय हो । एउटा विमानस्थल बनाउन पटक पटक जग्गा खोज्न हिँड्न मिल्दैन् । लामो समय लगाएर प्राविधिक अध्ययन गरेर नै यो स्थान छनोट गरिएको हो । त्यसैले यो आयोजना अगाडि बढ्छ,’ उनले भने ।
बाराको निजगढमा प्रस्तावित अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्दा लाखौं रूख काट्नुपर्ने र रूख काट्दा वन विनाश हुने भन्दै केही समयअघि गैरसरकारी संस्थाहरूले पनि विरोध गर्दै आएका थिए । ‘प्रदेश नम्बर २ को निजगढको वनक्षेत्रमा विमानस्थल निर्माण गर्नुको सट्टा प्रदेशभित्रकै खाली जमीन रहेको महोत्तरीको बर्दिवास, सर्लाहीको राजघाट र मूर्तियाका खाली जमीन प्रयोग गर्न उपयुक्त हुने भन्दै उनीहरूले तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएका थिए । 
मन्त्री योगेश भट्टराईले सन् २०१९ भित्रै निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरू गर्ने बताउँदै आएका छन् । उनले विमानस्थलको निर्माणका लागि आएका प्रस्तावको अध्ययन, लगानी जुटाउने काम र मोडालिटीका विषयमा सरकारले लगानी बोर्डसँग बसेर सघन रूपमा छलफल गरी रहेको समेत जानकारी दिए । पछिल्लो समय भएको लगानी सम्मेलनमा निजगढमा अन्तरराष्ट्रिय विमानस्थलका बारेमा चारओटा प्रस्ताव आएका छन् । यसको निर्माण मोडोलिटी टुंगो लागेको छैन । गतवर्ष जेठ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले सो विमानस्थल निर्माणको काम अघि बढाउने निर्णय गरेको थियो । त्यसैक्रममा विमानस्थल वरपरको रूख कटान गर्ने जिम्मा नेपाली सेनालाई दिए पनि स्थानीय बासिन्दाले विरोध गरेपछि सो काम अवरुद्ध भएको थियो । 
यस विषयमा संघीय संसद्को अन्तरराष्ट्रिय सम्बन्ध समितिले निजगढ विमानस्थलको अध्ययन गर्न माधव नेपालको नेतृत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको थियो । अन्तरराष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको विमानस्थल अध्ययन उपसमितिले विमानस्थल निर्माणको लगानी सुनिश्चित र गुरुयोजना तयार भएपछि मात्रै वरपरको रूख कटान गर्न सरकारलाई निर्देशन दिएको थियो । 
वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनअनुसार ५ लाख ८५ हजार ४९९ ठूला र १८ लाख ६४ हजार ८२० ओटा पोल आकारका रूख काट्नुपर्ने देखिएको थियो । ठूलो संख्यामा रूख कटान गर्नुपर्ने भएपछि रूख कटानको विषय सतहमा आएको थियो ।

टानको निर्वाचनमा दुई पक्षको उम्मेदवारी घोषणा, संस्था नवीकरण नै नगरी निर्वाचनमा जाँदै टान

भदौ १६, काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को भदौै २० गते हुने निर्वाचनको लागि दुई पक्षले उम्मेदवारी घोषणा गरेका छन् । सोमवार दुवै पक्षले राजधानीका अलग–अलग स्थानमा कार्यक्रम गरी उम्मेदवारी घोषणा तथा प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।
टानको ४१ औं वार्षिकोत्सव तथा साधारणसभामा लोकतान्त्रिक पक्षको नेतृत्व खुम बहादुर सुवेदीले गरेका छन् भने वामपन्थी पक्षको नेतृत्व अञ्जन थापा (कुमार)ले गरेका छन् । सुवेदीको समूहको वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्वितिय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, सचिवमा प्रदीप कुमार घिमिरे र कोषाध्यक्षमा ऋतु ग्यामदान, सह–कोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
यस्तै वामपन्थी समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा ऋषि प्रसाद नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देवकोटा, द्वितिय उपाध्यक्षमा तेञ्जिङ शेर्पा, महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेक बहादुर खकुराल र सह–कोषाध्यक्षमा प्रदीप पण्डितले उम्मेदवारी दिएका छन् । १७ सदस्यीय कार्यसमितिमा अन्य १०–१० जनाले सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
खुम सुवेदीको पक्षले पर्यटन विकास र व्यावसायिक उन्न्नतिका लागि ३१ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ । प्रतिवद्धतामा टानको संस्थागत सुदृढीकरण, पर्वतीय पर्यटन पूर्वाधार विकास तथा व्यावसायिक हीतका कुरा समावेश गरिएको छ । यस्तै थापा समूहले पनि गुणस्तरीय तथा साहसिक पर्यटन, पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)को रकमको सही सदुयपोग तथा टान अस्पताल निर्माण लगायतका एजेन्डा अघि सारेको छ । सुवेदी वर्तमान कार्य समितिमा वरिष्ठ उपाध्यक्ष हुन् भने थापा पूर्व कोषाध्यक्ष हुन् ।  
 
संस्था नवीकरणै नगरी निर्वाचन
संस्थाले ४१ औं अधिवेशन गर्ने तयारी भइरहँदा टान आफैं भने जिल्ला प्रशासन कार्यालयमा नवीकरण समेत हुन सकिरहेको छैन । टानले आम्दानी करबापतको रू. १ करोड ८५ लाख कर सरकारलाई नतिरेका कारण आव २०७४/७५ देखि नै नवीकरण भएको छैन । तर यस विषयमा टानका अध्यक्ष नवराज दाहालले भने संस्था नवीकरण भएको र अन्य विषयमा पनि समन्वय भइरहेको बताउँदै आएका छन् ।
यस्तै नयाँ कार्यसमितिको अध्यक्षका दुवै जना प्रत्यासीले पनि यो विषयलाई मिलाउन नेतृत्व लागिरहको बताउँदै चुनावी मैदानमा उत्रिएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले टिम्स विक्रीबापत लिएको शुल्कको २५ प्रतिशत हुन आउने आम्दानी राजस्व नबुझाएका कारण नवीकरण गरेका छैन । टानले नेपाल पर्यटन बोर्डसँग टिम्स कार्ड खरिदविक्री गर्दै आएको छ । टानमा देशभरका गरी करीब २ हजार ट्रेकिङ कम्पनी आवद्ध छन् ।

Sunday, 1 September 2019

आइतवारदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल राती दैनिक ७ घण्टा बन्द

भदौ १५, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग लगायतका जीर्णाेद्धारको दोस्रो चरणको काम आइतवारबाट शुरु हुँदैछ ।
पुस १५ गतेसम्मका लागि दैनिक सात घण्टा विमानस्थल बन्द गरी मर्मतको काम शुरु हुने विमानस्थल कार्यालयले बताएको  छ ।  विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बेलुका साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुनेछ । 
उनले विमानस्थल बन्द गरी रनवे सेन्टर लाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिंक रोड निर्माण लगायतको काम हुने जानकारी दिए । रातिको समयमा विमानस्थल बन्द भएपछि गत बिहीवारबाट जापानको ओसाका उडान शुरु गरेको सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको उडान भने सञ्चालन हुनेछ । 
विमानस्थल मर्मतको काम शुरु भए पनि साताको तीन दिन ३० मिनेट विमानस्थल खुला हुने विमानस्थल कार्यालयले बताएको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ओसाका उडान लक्षित गर्दै उडानको समयमा (राति २ देखि साढे २ बजेसम्म) विमानस्थल खुला गर्न ठेकेदार कम्पनीलाई अनुमति दिइसकेको छ । 
गत बिहीवारदेखि निगमले रातको साढे २ बजे ओसाका उडान शुरु गरेको छ । सातामा तीन दिन मंगलवार, बिहीवार र शनिवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ओसाका उडान हुनेछ । ‘निगमले हामीलाई पठाएको पत्रलाई आधार बनाएर पूर्णरूपमा सरकारी स्वामित्वको विमान सेवालाई हामीले सहयोग गरेका हौं’, क्यानका महानिर्देशक पोखरेलले भने, ‘हामीले निगमलाई जम्मा ३० मिनेटको समय दिएका छौं, ३० मिनेटमा निगमले उडान गरिसक्नुपर्ने हुन्छ ।’    
ओसाका उडानको समय र विमानस्थल मर्मतको काम शुरु हुने समय जुधेपछि निगमले क्यानलाई उडानको समयमा विमानस्थल सञ्चालन गर्न आग्रह गर्दै पत्र पठाएको थियो ।   
पहिलो चरणअन्तर्गत गत चैत १८ देखि असार १५ गतेसम्म विमानस्थलको धावनमार्ग मर्मतको काम गरिएको थियो ।
विमानस्थलको धावनमार्ग ३ हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइको छ । रातको १० बजे बिहानको ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरी मर्मतको काम गरिएको थियो ।     
विमानस्थल विकास शुल्कबापत यात्रुबाट लिइँदै आएको रू.१ हजार संकलनबाट विमानस्थल मर्मतको काम अघि बढाइएको हो । रू.४ अर्ब ७८ करोड लागतमा धावनमार्ग मर्मतसम्भारको जिम्मा चीनको सरकारी कम्पनी चाइना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङले पाएको हो ।

पर्यटकबाट आउने रकमभन्दा नेपालबाट विदेशिने रकम बढी, वार्षिक ७३ अर्ब आय हुँदा ८९ अर्ब व्यय

भदौ १५, काठमाडौं । नेपाल आउने विदेशी पर्यटकले वार्षिक रुपमा नेपालमा खर्च गर्ने रकमभन्दा नेपालबाट विदेशिने रकम बढी हुने गरेको देखिएको छ । आइतवार प्रकाशित नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार नेपाल घुम्न आउने विदेशी पर्यटकहरुले आर्थिक वर्ष २०७५/७६ मा रू. ७३ अर्ब ५७ करोड रुपैयाँ खर्च गरेका छन् । यसमध्ये शिक्षातर्फको खर्च मात्रै रू. ४६ अर्ब ३२ करोड रहेको छ ।
जबकी आर्थिक वर्ष २०७५/७६ मा सेवा खाता अन्तर्गत भ्रमण व्यय रू. ८९ अर्ब ५८ करोड पुगेको छ । यसले आयको तुलनामा व्यय रकम १६ अर्ब रुपैयाँभन्दा बढी भएको देखाएको छ । यो आव २०७४/७५ मा भन्दा १२ दशमलव ५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष भ्रमण व्यय रू. ७९ अर्ब ६० करोड रहेको थियो ।
नेपालमा विदेशी पर्यटकले गर्ने गर्ने यस्तो खर्च भने अघिल्लो वर्षको तुलनामा ९.७ प्रतिशतले मात्र बढेको छ । विदेशीले गर्ने खर्च आर्थिक वर्ष २०७५/७६ मा बढेपनि वृद्धिदर भने खुम्चिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो वर्ष आयको वृद्धिदर १४ प्रतिशत थियो । यद्यपि गएका ३ वर्षमा पर्यटक आगमनसँगै उनीहरुले गर्ने खर्च पनि बढेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७३/७४ मा रू. ५८ अर्ब आम्दानी गरेको नेपालले २०७४/७५ मा रू. ६७ अर्ब आम्दानी गरेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ मा पर्यटक आगमनमा २३ दशमलव ९ प्रतिशतले वृद्धि भई १२ लाख ३८ हजार ५८९ पुगेको छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । अध्यागमन विभागकाअनुसार सन् २०१८ मा कुल ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१९ को जनवरीदेखि जुनसम्म ५ लाख ८५ हजार ५३१ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच वैज्ञानिक  सहकार्यका लागि छलफल  २०८१ पुष २३  नेपाल उद...