काठमाडौं । नेपाल वायुसेवा निगमको मार्चदेखि जापानको नारिता र चीनको क्वाङचाउ उडान गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । काठमाडौं–नारिता उडान मार्चको पहिलो सातादेखि र काठमाडौं–क्वाङचाउ उडान मार्चको दोस्रो सातादेखि शुरू गर्न यी दुई रूटको टिकट बुकिङ निगमले मंगलवारदेखि खुला गरेको छ ।
निगमले हालका लागि नारितामा सोमवार, बुधवार र शुक्रवार गरी साताको तीन र क्वाङचाउमा मंगलवार र शनिवार गरी साताको दुई उडान गर्दै छ । ‘पूर्वनिर्धारित तालिकाअनुसार नै नारितामा फागुन १९ (मार्च २) र चीनको क्वाङचाउमा चैत २ (मार्च १५) मा उडान गर्ने गरी तयारी गरिएको छ । जसको लागि मंगलवारदेखि टिकट बुकिङ खुला गरिएको छ,’ निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दले बताए । निगमको मंसिर २६ गते बसेको कार्यकारी समितिको बैठकले नारिता तथा क्वाङचाउमा निगमको उडान शुरू गर्ने निर्णय गरेको थियो । निगमले हाल भारतको दिल्ली, बैङ्लोर र मुम्बई, बैंकक, मलेशिया, दुबई, दोहा र हङकङमा उडान गरिरहेको छ ।
नारिता उडान शुरू भएसँगै जापानकै अर्को शहर ओशाका उडान भने बन्द हुने चन्दले बताए । निगमले हाल ओशाकामा सातामा दुईओटा उडान गरिरहेको छ । निगमले गत भदौ १२ गतेदेखि जापानकै ओशाकामा सातामा दुईओटा उडान गरिरहेको छ ।
ग्राउन्ड ह्यान्डलिङ सेवा नपाउँदा नारितामा उडान सञ्चालन गर्ने योजना अनिश्चित बनेकोमा जापान सिभिल एभिएशन ब्यूरो अन्तर्गतकै ग्राउन्ड ह्यान्डलिङ सेवा प्रदान गर्ने संस्थासँग सहमति गरेसँगै निगमलाई नारिता उडानको ढोका खुलेको हो । ओशाकाको तुलनामा नारितामा नेपालीको बसोवास बढी भएकाले पनि नारितामा बजारको समस्या नहुने निगमको भनाइ छ । यसअघि निगमको वाइडबडीले नारितामा चार्टर फ्लाइट भने गरिसकेको छ ।
यता चीनमा उडान गर्न निगमले मंसिरको तेस्रो साता सिभिल एभिएशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी)बाट विमान उडान अनुमति (एओसी) प्राप्त गरेको छ । सिभिल एभिएशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी)बाट विमान उडान अनुमति (एओसी) प्राप्त गर्न लामो समय लाग्दा निगमले चीनमा उडान गर्ने योजनाले मूर्त रूप लिन सकेको थिएन । निगमले चीनमा सेवा विस्तार गर्न सीएएसीसँग गत असारमै उडान अनुमति मागेको थियो ।
निगमले पहिलो चरणमा क्वाङचाउ र त्यसपछि चीनको राजधानी पेचिङ तथा आर्थिक केन्द्र साङहाईमा उडान गर्ने योजना बनाएको छ । नेपाल–चीनबीच ५ वर्षपछि गत साउन महीनामा भएको हवाई सेवा सम्झौताको पुनरवलोकनपछि नेपाली विमान कम्पनीहरूले चीनमा उडान शुरू गर्न थालेका हुन् । हवाई सम्झौता पुनरवलोकनपछि नेपालको निजीक्षेत्रको हिमालय एयरलाइन्सले गत कात्तिक महीनादेखि चीनको पेचिङमा सातामा तीनओटा, गुयान र चाङसामा एक/एक गरी पाँचओटा उडान शुरू गरिसकेको छ ।
पछिल्लो हवाई सेवा पुनरवलोकनपछि नेपाली विमान कम्पनीहरूले चीनमा साताको ९८ उडान गर्न सक्नेछन् । यसअघि सातामा ७० उडान मात्रै गर्न पाउने प्रावधान थियो । हाल चीनबाट पाँचओटा विमान कम्पनीले नेपालमा सातामा ५० भन्दा बढी उडान गर्ने गरेका छन् । मंसिरको दोस्रो साता निगमले जापानको नारितामा उडानका लागि भूमिस्थ सेवा, इन्धन सेवा र स्लट (ग्राउन्ड ह्यान्डलिङ, फ्युल र स्लट) को सहमति गरेको थियो ।
यी दुई गन्तव्यको उडान थपिएपछि ए ३२० न्यारोबडी र ए ३३० वाइडबडीको उडान घण्टामा वृद्धि भई पूर्ण उपयोगमा आउने निगमको अपेक्षा छ । यस्तै सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा उद्घाटन गरेको सन्दर्भमा यी दुई गन्तव्यको उडानले पर्यटक आगमन बढ्ने पर्यटन क्षेत्रको पनि अपेक्षा छ ।