काठमाडौं । सरकारले असोज १ बाट आन्तरिक उडान खोल्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकहरूले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेका छन् ।
सोमवारको मन्त्रिपरिषद् बैठकले असोज १ देखि शुरू हुने आन्तरिक हवाई उडानमा सीट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने निर्णय गरेको थियो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधवार भएको छलफलमा असोज १ बिहीवारदेखि उडान खुला गर्ने निर्णय सार्वजनिक भए पनि ५० प्रतिशत यात्रु राखेर मात्र उडान गर्न नसकिने जानकारी हवाई व्यवसायीहरूले मन्त्रालयलाई दिएका छन् । ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्ने विषय अव्यावहारिक भएकाले असहमति व्यक्त गरेको वायुसेवा सञ्चालक संघका महासचिव तथा समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्की बताउँछन् ।
‘पहिलो कुरा उडानको मितिमै अन्योल देखिएको छ । अर्को कुरा विमान सेवा सञ्चालन गर्दा सबै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिने भएकाले आधा मात्र यात्रु राखेर उडाउनू भन्नु व्यावहारिक भएन । यसले दोब्बर भाडा बढ्छ । यस्तो अवस्थामा यात्रुले कसरी दोब्बर भाडा तिर्न सक्छन् ?’ उनले प्रश्न गरे ।
लामो समयदेखि बन्द उडान शुरू गर्ने सरकारको निर्णय स्वागतयोग्य भए पनि आधा यात्रु राखेर उडान गर्ने निर्णय असान्दर्भिक रहेकाले सच्याउनुपर्ने कार्की बताउँछन् । त्यसका लागि मन्त्रालयमा आग्रहसहितको पत्र दर्ता गरिएको उनले जानकारी दिए ।मन्त्रालयले यसअघि तोकिएको भाडादर लिन पाउने गरी सहमति गर्न प्रस्ताव गरे पनि त्यसरी उडान सम्भव नभएकाले स्ट्रोल र ट्रंक रूटमा तत्काल उडान नभर्ने निर्णय भएको संघका प्रवक्ता तथा हेली एभरेस्टका सञ्चालक योगराज कँडेलले बताए ।
यसबारे पर्यटन सचिवमार्फत सरकारलाई जानकारी गराइएकाले पुनर्विचार गर्नेमा आफूहरू सकारात्मक रहेको उनको भनाइ छ ।सरकारले कोरोना महामारीका कारण करीब ५ महीनाभन्दा बढी समयदेखि बन्द गरेको अन्तरराष्ट्रिय उडानलाई भदौ १६ गते (सेप्टेम्बर १ तारीख) बाट नियन्त्रित रूपमा खोलेको थियो ।
यस्तै, भदौ १६ गतेबाट नै आन्तरिक उडान खोल्ने निर्णय गरे पनि काठमाडौंलगायत विभिन्न जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि आन्तरिक उडानलाई पुनः बन्द गर्ने निर्णय गरेको थियो ।पछिल्लोपटक उडान खोल्न व्यवसायीहरूले दबाब दिँदै आएका थिए । लामो समयदेखि बन्द आन्तरिक उडान खोल्ने निर्णय भए पनि अन्ततः आधा वा पूरा क्षमता भन्ने विषयले उडान हुने÷नहुनेमा थप अन्योल सृजना भएको छ ।
बहराइनका राजकुमार नेपालमा
कोरोना महामारीकै बीच बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीसहितको टोली नेपाल भ्रमणमा आएको छ । बहराइनका राजकुमारसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणका लागि बुधवार काठमाडौं आइपुगेको हो ।महामारीका बीचमै बहराइनका राजकुमारको नेपाल भ्रमण हुनुले पर्यटनमा नयाँ आशा पलाएको व्यवसायीको धारणा छ ।काठमाडौं आइपुगेका राजकुमार ६ दिन गोकर्ण फरेस्ट रिसोर्टमा क्वारेन्टाइनमा बस्ने र सातौं दिन सोलुखुम्बुको लुक्ला प्रस्थान गर्ने कार्यक्रम रहेको सेभेन समिटका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिए । १८ जनाको टोलीमध्ये १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् ।
राजकुमारको आरोहण दलमा नेपालका ख्यातिप्राप्त हाई अल्टिच्युड गाइड खटाइनेछ ।
No comments:
Post a Comment