Monday, 18 November 2019

निजगढ विमानस्थलका लागि ज्युरिख एयरपोर्टसँग विस्तृत प्रस्ताव मागिँदै

टीपी भुसाल
असोज ६  काठमाडौं ।
बहुचर्चित निजगढ अन्तरराष्ट्रिय विमानस्थल सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा बनाउने निर्णय गर्दै सरकारले त्यसको निर्माणका लागि स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्ट इन्टरनेशनलबाट प्रस्ताव माग्ने भएको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमवार बसेको नेपाल लगानी बोर्डको ४०औं बोर्ड बैठकको यो निर्णयसँगै निजगढ विमानस्थलको विकास एक कदम अगाडि बढेको छ । 
सरकारले गत चैतको दोस्रो साता आयोजना गरेको अन्तरराष्ट्रिय लगानी सम्मेलनमा यो विमानस्थल निर्माणको प्रस्ताव पेश गर्न आह्वान गरेको थियो । त्यसैअनुरूप ३ अर्ब अमेरिकी डलरको लागत अनुमान गरिएको निजगढ विमानस्थल सार्वजनिक–निजी साझेदारीमा निर्माण गर्न ५ देशका ६ कम्पनीले प्रस्ताव बोर्डसमक्ष राखेका थिए । तोकिएको मापदण्ड पुर्‍याएर आवेदन दिएको भन्दै ज्युरिख एयरपोर्टलाई बोर्डले संक्षिप्त सूची (सर्टलिस्ट)मा राखेको हो । 
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले निजगढ विमानस्थलका बारेमा सोमवारको निर्णय प्रारम्भिक चरण भएको बताए । उनका अनुसार बोर्डले आगामी २ महीनाभित्रै निजगढ विमानस्थल निर्माणका लागि आशयपत्र (रिक्वेस्ट फर प्रपोजल) जारी गर्नेछ । आशयपत्र जारी भएको ४५ दिनभित्र ज्युरिख एयरपोर्ट इन्टरनेशनलले बोर्डसमक्ष विस्तृत प्रस्ताव पेश गर्नुपर्नेछ । ‘ज्युरिखको विस्तृत प्रस्ताव राज्यलाई चित्तबुझ्दो लागेमा मात्र उसलाई निजगढ निर्माणको जिम्मा दिइनेछ,’ अधिकारीले बताए । यदि सबै प्रक्रिया पूरा गरी निजगढ विमानस्थल निर्माणको जिम्मा ज्युरिखले पाएमा पीपीपी मोडलमा पूर्वाधार निर्माणको काम पाउने पहिलो कम्पनी हुनेछ ।
ज्युरिख एयरपोर्ट एजी विमानस्थल सञ्चालन/व्यवस्थापन गर्ने कम्पनी हो । 
सरकारी लगानीको यो कम्पनीले ज्युरिखकै विमानस्थल सञ्चालन गरिरहेको छ भने छिमेकी भारतको बैंगलोर अन्तरराष्ट्रिय विमानस्थलको निर्माण र सञ्चालन पनि यसैले गरेको छ । 

No comments:

Post a Comment

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच वैज्ञानिक  सहकार्यका लागि छलफल  २०८१ पुष २३  नेपाल उद...