Monday, 25 November 2019

बुटिक विमानस्थलमा रूपान्तरण हुँदै त्रिभुवन विमानस्थल

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा रूपान्तरण गर्ने काम तीव्र गतिमा भइरहेको छ । विमानस्थललाई मौलिक कला–संस्कृतिअनुरूप विकास गर्न सरकारले गत आर्थिक वर्ष (आव) २०७५/७६ मा रू. २९ करोड बजेट विनियोजन गरेको थियो । त्यसमध्ये गत आवमा करीब डेढ करोड रुपैयाँ मात्र खर्च भएको थियो । चालू आव २०७६/७७ मा बाँकी रकम खर्च गर्ने गरी काम भइरहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । 
प्रारम्भिक कामहरू गत आवमा गरिएको र त्यसपछि भौतिक पूर्वाधार निर्माण, आवश्यक सामग्री किन्ने तथा सौन्र्दयीकरण गर्ने काम भइरहेको कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशनमा गत पुसमा ६ महीनाभित्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ‘बुटिक विमानस्थल’का रूपमा परिणत हुनेगरी सुधारको काम गर्न निर्देशन दिएका थिए । तर, आवश्यक कार्यविधि नबन्दा काममा ढिलाइ भएको थियो । कार्यविधि आएपछि बुटिक विमानस्थल निर्माणको काम ढिलो गरी शुरू भएको थियो ।
काम ढिलो शुरू भएका कारण गत आवमा बजेट खर्च र काम दुवै कम भएको थियो । सरकारले ५ महीनामा सक्ने भनेको कामको लागि १ वर्ष समय लाग्ने भएको छ । २०७६ वैशाख १ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल घोषणा गर्ने सरकारको योजना थियो । बजेट ढिलो आएकोले निर्धारित समयमा तोकिएका काम नसकिएपछि सरकारले बुटिक विमानस्थलसम्बन्धी कार्यविधि २०७५ लाई संशोधन गरेको थियो ।
बुटिक विमानस्थल बनाउने धेरै काम सकिइसकेको र बाँकी काम पनि धमाधम अघि बढेकाले नेपाल भ्रमण वर्ष शुरू हुनुअघि नै काम सकिने पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए । आन्तरिक खर्चबाट गर्न सकिने काम सकिएको र बाँकी सामग्री किन्न टेन्डर भइसकेकाले अब सकेसम्म छिट्टै काम सक्ने विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । 
बुटिक भन्नाले नेपालको परम्परा र संस्कृति झल्काउने गरी सौन्दर्यीकरण गर्ने कार्य हो । विमानस्थलमा गतवर्ष नै नेपाली मौलिकता प्रदर्शन हुने एकसिंगे गैंडा, पानी भरिएको गाग्री, तामाको ताउलो, नेपाली कलात्मक आँखीझ्याल, ढाकाका सामग्री राखिसकिएका छन् । अहिले नेपालीपन झल्किने गरी रंगरोगन लगाउनेदेखि सामग्री राख्नेसहितका सौन्दर्यीकरणका अन्य कामसमेत भइरहेका छन् । 
बुटिकमा बदल्ने कामअन्तर्गत टर्मिनल भवन अगाडिको पार्किङलाई तल्लो स्थानमा सारिसकिएको छ भने अहिलेको पार्किङ क्षेत्रमा प्राचीन मूर्ति, पानीको फाउन्टेन र पूmलबारी बनाइँदै छ । विमानस्थलले बुटिकको अवधारणाअनुसार काम शुरू गरेपछि अहिले विमानस्थलको स्वरूपमा परिवर्तन आएको छ । यात्रु आउनेजाने स्थानमा राखिएका सामग्रीले नेपाली मौलिकता झल्काएको छ । विमानस्थललाई बुटिकमा बदल्न मार्बलको ठाउँमा तेलिया इँटा तथा पुराना ढुंगा, स्टीलका कमसल धाराको ठाउँमा नेपालीपन झल्किने पित्तल र तामाका टुटी र ब्यागेज ट्याग, बोर्डिङ पासजस्ता सामग्री नेपाली कागजबाट बनाइएका प्रयोग गरिने विमानस्थल कार्यालयले जानकारी दिएको छ । 
यस्तै अध्यागमन, भन्सार र विमान कम्पनीका काउन्टरमा प्राचीन काष्ठकला झल्किने डिजाइन राखिनुका अतिरिक्त सबै होर्डिङ बोर्ड, ब्यानर र सूचनापाटीलाई हटाएर थिम्याटिक पेन्टिङ, विशिष्ट कलाकौशल झल्किने धातु र काठ तथा ढुंगाका मूर्ति राखिने विमानस्थल कार्यालयले बताएको छ । 
सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको सन्दर्भमा नेपाललाई विश्वमा चिनाउन बुटिक विमानस्थल एउटा नयाँ ‘प्रडक्ट’ हुने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनले भने, ‘संसारका धेरै विमानस्थल स्टील या कंक्रिटले बनेका ठूला छन् । यो विमानस्थलको भित्री भागचाहिँ नेपाली शैलीको भएकाले बुटिक विमानस्थलमा बदल्न सजिलो हुने छ ।’  २०४५ सालमा एशियाली विकास बैंकको आर्थिक सहयोगमा निर्माण गरिएको विमानस्थलको डिजाइन दुई जना जर्मन र जापानी इन्जिनीयरहरूले गरेका थिए ।

No comments:

Post a Comment

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच वैज्ञानिक  सहकार्यका लागि छलफल  २०८१ पुष २३  नेपाल उद...