वैशाख १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको वर्तमान परिस्थितिलाई कसैले बिथोल्न खोजे स्वीकार नगर्ने बताउनु भएको छ । मे दिवसका अवसरमा शुक्रवार सन्देश दिंदै प्रधानमन्त्री ओलीले आफ्ना स-साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले परिस्थितिलाई बिथोल्न र बिगार्न प्रयास गरे त्यस्ता प्रयासलाई सफल हुन नदिने बताउनु भएको हो ।
प्रधानमन्त्रि ओलीले कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको र ती प्रयासमा केही सञ्चार माध्यमहरु पनि सहभागी भएको आरोपसमेत लगाउनु भएको छ ।
‘केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ, एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थितरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो,’ प्रधानमन्त्रिको सन्देशमा उल्लेख छ ।
सन्देशमा कोरोना भाइरसका कारणले देशको उत्पादन प्रणालीको कडी टुटेको र श्रमको प्रतिक्षामा रहेका उत्पादनका साधनहरु पनि लकडाउनमा रहेको अवस्थामा पनि यसलाई स्वीकार्नु बाध्यता रहेको उल्लेख छ । प्रधानमन्त्रिले निर्माण, रोजगारी र उत्पादनमा पारेको प्रतिकूल प्रभावको अवस्थाले श्रम र उत्पादनको सम्बन्ध एवं त्यसको महत्वलाई सबै वर्गले गम्भीरताका साथ बुझ्ने नयाँ परिस्थिति पनि निर्माण भएको बताउनु भएको छ ।
No comments:
Post a Comment