जेठ ७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना अवकाश प्राप्त शाखा अधिकृतले गैरकानुनी रुपमा करीब रू. १८ करोड आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अखितयारले टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालविरुद्ध रू. १७ करोड ८३ लाख ४१ हजार ५७९ गैरकानुनी रुपमा आर्जन गरेको भन्दै विशेष अदालत काठमाडौंमा बुधवार मुद्दा दायर गरेको हो ।
गाविस सचिवबाट जागिर शुरु गरेका अर्यालले शाखा अधिकृतबाट अवकाश पाएका थिए । विसं २०३९ साउन १ गते जिल्ला विकास समितिको कार्यालय स्यांग्जाबाट गाविस सचिव पदमा स्थायी नियुक्ति पाइ निजामती सेवामा प्रवेश गरेका अर्यालले नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाई उक्त सम्पत्ति गैरकानूनी रुपमा जोडेको अख्तियारको दाबी छ ।
अख्तियारका अनुसार नासु पदमा बढुवा भएर काठमाडौं जिल्लाको साबिक भीमढुंगा गाविस हुँदै टोखा नगरपालिकाका कार्यालयहरु समेतमा कार्यरत रही शाखाअधिकृत पदबाट अनिवार्य अवकाश पाएका अर्यालले अधिकांश जग्गाहरु आफू कार्यरत गाविस तथा नगरका स्थानहरुबाट सेवा अवधिमा जोडेका थिए ।
आयोगले उनले सार्वजनिक सेवामा प्रवेश गरेको मितिदेखि आव २०७५/ ०७६ सम्मको अवधिलाई जाँच अवधि लिएर अनुसन्धान शुरु गरेको छ ।
सो क्रममा संकलित प्रमाणका कागजातहरुबाट निजले आफ्नो तथा उनकी श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्यालको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरीदमा रू. ५ करोड ४४ लाख ८५ हजार ८५४, घर निर्माणमा रू. ४१ लाख १० हजार ४२५, पूँजीगत लाभ तथा आयकर रू. ४ लाख ९६ हजार १२६, विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरुका साधारण तथा संस्थापक शेयर खरीदमा ९ करोड १३ लाख ७८ हजार १२१ लगानी गरेको देखिएको छ ।
यसैगरी निजले विभिन्न बचत तथा सहकारी संस्थाहरुमा भए गरेको लगानी रू. २ लाख ५० हजार, छोरीछोराहरुको अध्ययनमा रू. २० लाख ३२ हजार ३६६, छोराछोरीहरुको विवाहमा रू. २८ लाख, जीवन बीमाबापतको प्रिमियम शुल्कमा रू. ४ लाख १० हजार १५९, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका कर्जा चुक्तामा रू.१ करोड ७६ लाख ४६ हजार २६३, न्यू लिंक कापी उद्योग र एलडी इन्टरप्राइजेज फर्मसमेतमा लगानी रू. ४ करोड ४२ लाख ५० हजार लगानी तथा खर्च गरेको पाइएको छ ।
त्यस्तै अनुसन्धानको क्रममा सवारी साधन खरीदमा रू.१२ लाख, सुन खरीदमा रू. ४ लाख, दान र सरसापटी व्यवहारमा रू. ४ करोड ५० लाख ३३ हजार र बैंक खाताहरुमा अन्तिम मौज्दात रकम रू.१५ लाख ७६ हजार ७४८ समेत गरी कुल रू. २६ करोड ६० लाख ६९ हजार ६२ को खर्च तथा लगानी गरेको देखिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
उनले सार्वजनिक सेवामा प्रवेश गरेदेखि विसं २०७६ आषाढ मसान्तसम्मको जाँच अवधिमा आर्जन गरेको वैध आय रू. ८ करोड ७७ लाख २७ हजार ४८३ को तुलनामा सोही अवधिमा विभिन्न शीर्षकहरुमा रू. २६ करोड ६० लाख ६९ हजार ६२ लगानी तथा खर्चको आयोगले विश्लेषण गर्दा रू. १७ करोड ८३ लाख ४१ हजार ५७९ अकूत आर्जन गरेको भेटिएको हो ।
उनको सम्पत्ति आर्जनको वैधानिक स्रोत एवं वस्तुनिष्ठ आधार प्रमाणहरु प्रस्तुत गरी आयभन्दा बढी देखिएका व्यय रकमहरुको स्रोत पूष्टि गर्न नसके र विद्यमान सम्पत्तिको स्रोत नखुलेको पछि उक्त रकम भ्रष्टाचार भएको आयोगले ठहर गरेको छ ।
आयोगले निजको श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल र छोराहरु सुशिल अर्याल, सुनिल अर्यालसमेतलाई सम्पत्तिहरु जफत प्रयोजनका लागि माग दावी गर्दै विशेष अदालत काठमाडौमा आरोपपत्र दायर गरेको प्रवक्ता कोईरालाले जानकारी दिए ।
No comments:
Post a Comment